
खोटाङ, कात्तिक १९ । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनकालागि खोटाङमा चुनावीसभा सुरु भएको छ । लोकतान्त्रीक बाम गठबन्धनले शुक्रबारबाट सभा सुरु गरेको छ । नेकपा एमालेले आइतबारबाट सभा सुरु गर्दैछ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भने घरदैलोमा व्यस्त छन् ।
सिट भागबन्डामा असन्तुष्टि जनाउदै खोटाङ प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसले स्वतन्त्र उम्मेद्वार उठाएको छ । महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई स्वतन्त्र उम्मेद्वार उठाएका कांग्रेसका नेताहरु वर्तमान अवस्थामा गठबन्धनमा खुल्न थालेका छन् । मनोनयन दर्ताको समयमा पुर्व मन्त्री सर्वधन राईले प्रतिनिधिसभामा र महाधिवेशन प्रतिनिधि सुबासकुमार पोखरेलले प्रदेशसभा ‘क’ मा स्वतन्त्र उम्मेद्वार दिनुभयो थियो । तर सर्वधन र सुबासले उम्मेद्वारी फिर्ता लिनुभयो भने धर्मराजको उम्मेद्वारी कायम छ । सुरुवाती चरणमा धर्मराज जिताउनु पर्छ भन्दै होमिएका नेताहरु अहिले भटाभट गठबन्धनमा खुल्न थालेका छन् ।
शुक्रबार खोटाङ बजारमा भएको गठबन्धनको चुनावीसभामा पुर्वमन्त्री सर्वधन राई र पुर्व पार्टी सभापति नरेशकुमार श्रेष्ठ लगायतका नेताहरु सहभागी हुनुभएको थियो । शनिबार साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा भएको सभामा प्रदेश १ समिति सदस्य जितेन्द्र सिंह ठकुरी, जिल्ला पार्टी उपसभापति इवन राई र तिर्थराज भट्टराई लगायतका नेताहरु सहभागी हनुभयो । स्रोतका अनुसार, अधिकांश महाधिवेशन प्रतिनिधि, जिल्ला पार्टी उपसभापति, सचिव, सहसचिव, भातृ संगठन तरुणदलका पदाधिकारी, नेपाल विद्यार्थी संघका पदाधिकारी सबै गठबन्धनको पक्षमा उभिएका छन् । गठबन्धन बाहिर रहनुभएका महाधिवेशन प्रतिनिधि सुबासकुमार पोखरेल पनि गठबन्धनलाई सहयोग गर्नुपर्छ भन्दै जिल्ला बाहिर जानुभएको छ । जिल्ला सभापति विष्णुकुमार राई पनि गठबन्धनको पक्षमा उभिने संकेत गर्नुभएको स्रोतको दावी छ ।
चुनावी सभामा सम्बोधन गर्ने क्रममा सुरुवाती चरणमा असुन्तुष्टि भएपनि अहिले गठबन्धनका उम्मेद्वार जिताउनु पर्छ भन्ने पक्षमा आएको कांग्रेसका नेताहरुको भनाइ छ । सभालाई सम्बोधन गर्दै पुर्वमन्त्री राईले भन्नुभयो, ‘गठबन्धन बाहेकका उम्मेद्वारलाई हामी चिन्दैनौँ । धारा होकी खै के छरे त्यो हामीलाई थाहा छैन् । अब हामी सबै मिलेर गठबन्धन जिताउनुपर्छ ।’ सिट भागबन्डामा खोटाङ कांग्रेस अन्यायमा परेपनि पार्टीको केन्द्रिय निर्णयलाई अस्विकार गर्नु उचित नभएको नेताहरुको भनाइ छ ।
लोकतान्त्रीक बाम गठबन्धनबाट प्रतिनिधिसभामा माओवादीका रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’ मा एकीकृत समाजवादीका विरबलकाजी राई, प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका भुपेन्द्र राई उम्मेद्वार हुनुहुन्छ ।
