Thursday, April 16News That Matters

काम नसकी ठेकेदार अन्तै जान खोजेपछि नगरपालिकाद्धारा मेशिन तालाबन्दी

ताला लगाउदै प्रवक्ता घिमिरे लगायत

खोटाङ, कात्तिक २० । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदार कम्पनीको मेशिनमा तालाबन्दी गरेको छ । जिम्मा लिएको काम सम्पन्न नगरी मेशिन अन्यन्त्र ठाउँमा लान खोजेपछि नगरपालिकाले तादाबन्दी गरेको हो ।

जिल्ला अस्पताल चोक–लफ्याङ सडक खण्डको सडक स्तरोन्नतीको जिम्मा करीब ५ करोडमा ढुकुचु बगाले विएण्टी जे.भि.कम्पनीले पाएको हो । सम्झौता अनुसार काम सम्पन्न गर्न ४ महिना बाकी छ । सम्झौता मिति सकिन लाग्दा पनि काम सम्पन्न गर्नुको सट्टा मेशिनहरु नै लिएर अन्यन्त्र जान खोजेपछि ताला लगाइएको नगरपालिकाले जनाएको छ । टिप्फर लगायतका केही सामान कम्पनीले केही समय अगाडि रातको समय पारेर लागिसकेको पाइएको छ । बाकी रहेका केही मेशिन लान खोज्दा आइतबार (आज) नगरपालिका प्रवक्त एवं वडा नम्बर ५ का वडाध्यक्ष दिनेश घिमिरे, वडा नम्बर एकका वडाध्यक्ष नवराज राई लगायतले विज्ञप्ति जारी गर्दै ताला लगाउनुभएको हो ।

कात्तिक ३ गते पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर नगरपालिका भित्र सञ्चालन भइरहेका सम्पुर्ण योजनाको विवरण सार्वजनिक गर्दै ३५ दिन भित्र बेखबर बनेका निर्माण कम्पनी सम्पर्कमा आएर मासिक प्रगती विवरण बुझाउन नगरपालिकाले अनुरोध गरेको थियो । सम्पर्कमा नआउने कम्पनीलाई कारवाहिको लागि सिफारिस गर्ने नगरपालिकाले जनाएको थियो । तर काम सम्पन्न नगरी निर्माणस्थलमा भएका मेशिनरी सामानहरु अन्यन्त्र लैजाने कोशिस गरेकाले ताला लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

सडकको अवस्था नाजुक रहेको तर काम गर्न छाडेर निर्माण कम्पनी भाग्न खोजेपछि मेयर तिर्थराज भट्टराईको निर्देशनमा ताला लगाइएको प्रवक्ता घिमिरेले बताउनुभयो । ‘सडकको स्तरोन्नती नहुँदा विरामी, ज्येष्ठ नागरिक, बालबालिका, महिलाहरुलाई आवतजावतमा समस्या भएको छ । अन्य पालिकाबाट विरामी जिल्ला अस्पताल ल्याउनसमेत हेलिकप्टर चार्टर्ड गर्नुपर्ने अवस्था छ । त्यसैले यो सडकको काम पुनः सञ्चालन नभएसम्मकालागि हामीले मेयर भट्टराईको निर्देशनमा ताला लगाएका हौँ ।’ प्रवक्ता घिमिरेले भन्नुभयो ।

यस्तै, नगरपालिका भित्र टेन्डर परेका अधिकांश योजनाहरु निर्माण कम्पनीले अलपत्र पारेकाले अब नगरपालिका चुपचाप नबस्ने मेयर भट्टराईले बताउनुभयो । ‘नगरपालिकामा सडक स्तरोन्नती, ढलान लगायतका धेरै योजनामा टेन्डर परेको छ, कतिपय काम आधी पनि भएको छ । तर निर्माण कम्पनीले योजनाहरु अलपत्र पारेर सम्पर्क बिहिन बनेको अवस्था छ । त्यसैले अब हामी चुप बस्दैनौँ, कहाँ गएर आन्दोलन गर्नुपर्ने हो, कुन निकायमा गएर धर्ना बस्नु पर्ने हो, या तालाबन्दी गर्नुपर्ने हो त्यो हामी सबै गर्छौँ । हामीलाई काम छिटो चाहिएको छ ।’ मेयर भट्टराईले भन्नुभयो ।