Thursday, April 16News That Matters

हलेसी आँखा शिविरमा ७६ जनाको शल्यक्रिया

आँखाको शल्यक्रिया पश्चात विरामीहरु

खोटाङ, कात्तिक २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ७६ जनाको शल्यक्रिया गरिएको छ । शनिबारदेखि सोमबारसम्म सञ्चालन भएको शिविरमा ६२ जनाको मोतिबिन्दु र १४ जनाको सामान्य आँखामा मासु पलाएकाहरुको निशुल्क शल्यक्रिया गरिएको हो ।

तीन दिनसम्म सञ्चालन भएको शिविरको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र उपमेयर रमेशकुमार राउतले उद्घाटन गर्नुभएको थियो । हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको थियो ।
शिविरमा ७ सय ६५ जनाले निशुल्क आँखा परिक्षण गरेका छन् । आवश्यकता अनुसार सुपथ मुल्यमा चस्मा र निशुल्क औषधी प्रदान गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा परिक्षण गर्न आएर मोतिबिन्दु पहिचान भएका, घरदैलो कार्यक्रममा मोतिबिन्दु पहिचान भएका, दैनिक परिक्षण गर्न आउनेहरु मध्ये मोतिबिन्दु पहिचान भएका, ज्येष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रममा र च्यास्मीटारमा भएको स्वास्थ्य परिक्षण कार्यक्रममा मोतिबिन्दु पहिचान भएकाहरुको शल्यक्रिय गरिएको उहाँले बताउनुभयो ।

शिविरमा हलेसी तुवाचुङ नगरपालिकासँगै छिमिकी पालिकाहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावा बेसी गाउँपालिकाका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, ओखलढुंगा, उदयपुर र सोलुखुम्बु जिल्लाका विरामीहरु आएका थिए । गाउँमै आँखाको शल्यक्रिय मार्फत उपचार पाउदा स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । ‘अन्तै जानु परेको भए खर्च हुने थियो, कहाँ जानु कहिले त्यो पनि टुंगो हुने थिएन । यसरी गाउँमै उपचार पाइयो हामी ज्यादै खुशी छौँ ।’ मोतिबिन्दुको शल्यक्रिया गराउनु भएका हलेसीका दुर्गा बहादुर केसीले भन्नुभयो । यस्तै, मोतिबिन्दुकै शल्यक्रिया गराउनु भएका हलेसीका चन्द्र बहादुर बस्नेतले पुनः संसार हेर्न पाएको बताउनुभयो । मोतिबिन्दु भएर देख्न छाडिसकेको अवस्थामा गाउँमै उपचार गर्न पाएर पुनः देख्न थालेको उहाँको भनाइ छ ।