Thursday, April 16News That Matters

निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँछौँ : बाम–लोकतान्त्रिक गठबन्धन

र्‍यालीसहित उम्मेद्वारी दर्ता गर्न जादा गठबन्धनबाट खोटाङका उम्मेद्वारहरु

खोटाङ, कात्तिक २५ । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि एवम् पद्धतिमार्फत व्यावसायिक खेतीमा रुपान्तरण गर्ने प्रतिवद्धता जनाएको छ । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका साझा उम्मेदवारहरुले संयुक्तरुपमा हातेपर्चा प्रकाशन गरेर प्रतिवद्धता जनाएका हुन् ।

खेतीपाती, पशुपालन, फलफूलखेतीलाई व्यावसायीकरण गर्नका लागि पकेट क्षेत्र निर्धारण गरेर कार्यक्रम लागु गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायिकरणको लागि आधुनिक यन्त्र, मल र बीऊ, बहु उद्देश्यीय नर्सरी स्थापना गर्न समूह, सहकारी तथा कृषि फार्ममार्फत अनुदानको व्यवस्था मिलाउने, खाद्यन्न, फलफूल र तरकारी आदि कृषि उत्पादनको लागि सङ्कलन र शितभण्डारण केन्द्र स्थापना गर्नुका साथै बजारिकरण र प्रशोधनको व्यवस्था गर्ने बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले प्रकाशन गरेको संयुक्त प्रतिवद्धतापत्रमा उल्लेख छ ।

कृषिमा जैविक (अर्गानिक) उत्पादनलाई विशेष जोड दिँदै रैथाने बालीको अनुसन्धान र संरक्षण गर्ने, कृषिजन्य उद्योग स्थापना तथा कृषि पर्यटनमा विशेष जोड दिने, हिउँदको समयमा सिचाइँको सुविधा पु¥याउन अग्ला ठाउँहरूमा रिचार्ज पोखरीहरू निमार्ण गर्ने, किसानलाई बाँदर तथा अन्य जङ्गली जनावरको आतङ्कबाट मुक्ति दिलाउन प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरी जङ्गली जनावरहरूको क्षतिपुर्तिको उचित व्यवस्थापन तथा सहुलियतमा कृषि बीमा गर्ने लगायतका बुँदाहरु प्रतिवद्धतापत्रमा समेटिएको छ ।

गठबन्धनका उम्मेदवार तथा कार्यकर्ताले उक्त प्रतिवद्धतापत्र जिल्लाका दशवटै स्थानीय तहका मतदाताको हातहातमा पु¥याएका छन् । पूर्वी पहाडी जिल्ला खोटाङका अधिकांश स्थानीय बासिन्दा कृषिमा आधारित रहेकाले बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको प्रतिवद्धतालाई निक्कै महत्वका साथ हेरिएको छ ।

बाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा (क)मा नेकपा (एकीकृत समाजवादी) पार्टीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा काँग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तीनैजना उम्मेदवारहरु यतिबेला आ–आफ्नो पक्षमा माहोल बनाउन मतदाताको घरदैलो तथा चुनावीसभामा व्यस्त छन् ।

एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा बाम(लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा उत्रनुभएको छ ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (क)मा स्वतन्त्रसहित आठ/आठ तथा प्रदेशसभा (ख)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।