Thursday, April 16News That Matters

पञ्चदोबाटो–ढकालबेँसी सडक पक्की र दिखुवा खोलामा पुल निर्माणकालागि १० करोड बजेट विनियोजन

पञ्चदोबाटोबाट विजयखर्क जाने सडक, तस्विर : चन्चल पोखरेल

खोटाङ, कात्तिक २५ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित पञ्चदोबाटोदेखि वडा नम्बर १५ विजयखर्कको वडा कार्यालय, स्वास्थ्य चौकी हुँदै ढकालबेँसीसम्मको १७ किलो मिटर सडक पक्की हुने भएको छ । उक्त सडक पक्की गर्न र सोही वडा र खाल्लेको बिचमा पर्ने दिखुवा खोलामा पक्की पुल निर्माण गर्न शहरी विकास मन्त्रलायबाट रु १० करोड बजेट बिनियोजन भएको छ ।

उक्त आयोजनालाई बहुवर्षिय योजनामा समावेश गर्न नगरपालिकाले गत असोज ४ गते मन्त्रालयमा पत्र पठाएको थियो । सोही अनुसार आर्थीक वर्ष २०८९/०८० मा रु २ करोड ५० लाख र आर्थीक वर्ष २०८०÷०८१ मा बाकी रकम व्यवस्था हुनेगरी बहुवर्षिय योजनामा समावेश गरिएको भन्दै सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई शहरी विकास तथा भवन निर्माण विभागले पत्र मार्फत जानकारी गराएको छ ।

पत्रमा उल्लेख भए अनुसार उक्त आयोजना कात्तिक २२ गते बसेको नेपाल सरकार (सचिवस्तर) को निर्णयले स्वीकृत गरेको हो । पत्रमा आयोजनाको नाम पञ्चदोबाटो–तमुङ वाकलिम–विजयखर्कको वडा कार्यालय–स्वास्थ्य चौकी सडक स्तरोन्नती भनेर लेखिएपनि त्यो त्रुटिभएको र नगरपालिकाले पेस गरेको स्टामेट अनुसार सडक पक्की र पक्की पुल निर्माणको काम हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।

दिखुवा खोलामा पुल निर्माण भएसँगै विजयखर्क–खाल्ले–दिक्तेल रिङरोड बन्ने छ । यस्तै, उक्त खोलामा पुल निर्माण भएपश्चात जिल्ला सदरमुकाम दिक्तेलबाट तराई जाने खानिडाँडा–रेग्मीटार छोटो बाटो पुर्णरुपमा तयार हुनेछ । खानीडाँडा–रेग्मीटारको बाटो सञ्चालनकालागि स्तरोन्नतीको काम धमाधम भइरहेको मेयर भट्टराईले बताउनुभयो ।

तत्कालिन जिल्ला विकास समितिले आहालेबाट राजापानीको घर्तीभिरसम्म र सगरथामा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभीरसम्म सिधा ‘ट्रयाक’ खोलेको थियो । घर्तीभिरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्र्याकलाई जोड्न सकिएको छैन् । हाल राजापानीस्थित पुरानो गाउँबाट सडक जोडिएको छ । तत्काललाई राजापानीको पुरानो गाउँकै सडक मर्मत गरेर सञ्चालनमा ल्यानकालागि हलेसी तुवाचुङ नगरपालिकालाई पत्रसमेत पठाएको मेयर भट्टराईले बताउनुभयो । नागरिकको आवश्यकता अनुसार दुवै नगरपालिकाले आ–आफ्नो भुभागको सडक मर्मत गरेर सञ्चालनमा ल्याउने सहमती भएको उहाँको भनाइ छ ।

दिखुवा खोलामा पुल निर्माण र घर्तीभिरको चट्टान फोडेर सडक जोडिने हो भने दिक्तेलबाट रेक्मीटार जान बुइपाको बाटो भन्दा करीब २ घण्टा छिटो हुने अनुमान गरिएको छ ।