
खोटाङ, कात्तिक २५ । आसन्न मंसिर ४ गतेको आम निर्वाचनमा खोटाङ जिल्लामा जनताले गठबन्धनलाई जिताएमा बङ्सिलाघाट र धाप्लाङघाटको पक्की पुल निर्माण गर्ने जिम्मा गठबन्धनले लिने प्रदेशसभा ‘ख’ का उम्मेद्वार भुपेन्द्र राईले बताउनुभएको छ । जन्तेढुंगाको चिसापानी बजारमा शुक्रबार भएको चुनावीसभालाई सम्बोधन गर्दै बाम–लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार कांग्रेस प्रदेश नम्बर एकका महामन्त्री राईले यस्तो बताउनुभएको हो ।
खोटाङ प्रदेशसभा ‘ख’ को नाका अर्थात बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका जोड्ने धाप्लाङघाटस्थित शुनकोशी नदिमा लामो समयदेखि १५ प्रतिशत मात्र काम भएर पुल अलपत्र बनेको छ । गठबन्धन विजयी भएमा उक्त अलपत्र बनेको पुल र बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बङिसलाघाटस्थित शुनकोशी नदिमा पक्की पुल निर्माणको जिम्मा लिने राईको भनाइ छ ।
‘२०५६ सालमा मात्र खोटाङमा नेपाली कांग्रेसले चुनाव जित्यो, त्यसयता २०६४ सालमा माओवादी र अन्य चुनावमा एमालेको पक्षमा चुनाव गयो । तर काहीँ सडक बाटो राम्रो छैन्, आवश्यक खोला नदिमा पुल बनेका छैनन्, जिल्लाका सबै जनताका घरमा विद्युत वत्ति बलेको छैन्, एमालेका उम्मेद्वार अझै विकास गर्छौँ भन्दै भोट माग्न आएमा यहि प्रश्न गर्नुहोस । एमाले विकास हैन यस देशको समस्या हो, एमालेका अहिलेका उम्मेद्वार समस्या हुन् । त्यी समस्याको समधान बनेर हामी आएका छौँ । त्यसैले मंसिर ४ गते हामीलाई भोट दिएर जिताउनुस्, बङिसलाघाट र धाप्लाङघाटको पक्की पुल निर्माण गर्ने जिम्मा गठबन्धनले लिन्छ, हामी लिन्छौँ । पाँच वर्ष बनाएर देखाइ दिन्छौँ ।’ राईले भन्नुभयो ।
