Thursday, April 16News That Matters

खोटाङ : निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र  १८ सय सुरक्षाकर्मी खटिए

निर्वाचन सामाग्री लिएर जादै कर्मचारी

खोटाङ, मंसिर १ । खोटाङमा निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र करीब १८ सय सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएका हुन् ।

मुख्या निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री सहितका कर्मचारी र सुरक्षाकर्मीको टोली जिल्लाबाट खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताउनुभयो । सदरमुकाम दिक्तेल नजिकका केही मतदान केन्द्रमा मात्र निर्वाचन सामग्री भने भोली मात्र पठाइने उहाँको भनाइ छ ।

निर्वाचन सामाग्री बस तथा सुमोमा लिएर जादै कर्मचारीहरु

मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप लगायतका ६२ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी बस रिजर्भ गरेर मतदान स्थलतर्फ गएका छन् । खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान स्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भंग गर्न निषेध सम्वन्धी सूचना टाँस गरेर मतदान केन्द्र निर्माणको थालनी गर्ने सहायक निर्वाचन अधिकृत यादवले बताउनुभयो ।

यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

कसरी हुन्छ मत गणना ?

४ गते साँझ ५ बजेसम्म मतदान गर्न पाउने समय तोकिएको छ । ५ बजे पश्चात मुचुल्का उठाएर मतदान स्थलबाट मत पेटिका हिडाइनेछ । ५ गते भित्रमा बत पेटिका सदरमुकाम आइसक्ने छ । त्यसपछि दलहरुको सहमती अनुसार मत गणना गनृ सुरु गरिने सहायक निर्वाचन अधिकृत यादवले बताउनुभयो । 

मुख्य निर्वाचनको कार्यालय (अदालत) मा तीन ठाउँमा मत गणना गरिने उहाँको भनाइ छ । सुरुमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मत गणना हुनेछ । त्यसपछि दुई प्रदेशसभाको गणना सकेर समानुपातिकतर्फको मत गणना हुनेछ ।