
खोटाङ, मंसिर १ । २०६९ सालताका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा नेपाल शिक्षक संघको क्षेत्रीय अधिवेशन थियो । अधिवेशनमा कांग्रेसका युवा नेता भुपेन्द्र राई अतिथिका रुपमा बोलाइए । खोटाङबजार जानेक्रममा राई तत्कालिन गाविस लिच्कीराम्चेको कालापानी पुगे ।
कालपानीमा पिउनेपानीको दयनीय अवस्था देखेपछि राईले सुनकोशीको पानी तानेर निकाल्ने प्रतिवद्धता जनाए। करिब दुई हजार मिटर तल रहेको नदीको पानी तानेर गाउँ निकाल्ने कुरा गर्दा स्थानीयले उनको कुरा पत्याएका थिएनन्। कतिपयले त ‘कहीँ पानी उकालो बग्छ?’ भन्दै उडाए पनि ।
तर, उनको योजना र पहल अनुसार सुनकोशीको पानी कालापानीमा निस्कियो। २०७७ पुषमा राई आफैले रसुवाघाट–कालापानी खानेपानी आयोजना उद्घाटन गरे। सुनकोशी किनारकै भण्डारेघाटमा पनि पानी लिफ्टीङको काम गरेर देखाए । कोभिड–१९ को महामारीले विश्व आक्रान्त थियो। मानव जगत संक्रमणबाट जोगिने सावधानी अपनाइरहेका थिए। संक्रमण भइसकेकाहरु निको हुन संघर्ष गरिरहेका थिए। संक्रमितको नजिक जाने अवस्था थिएन। आफैलाई संक्रमण सर्ने त्रास थियो ।
उनी त्यो बेला दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षको भूमिकामा थिए। त्यो त्रासदीपूर्ण समयमा उनले कोरोना संक्रमितलाई पिठ्युँमा बोके। गाडीसम्म लगे, गाडीमा चढाएर आफैले कोभिड अस्पताल पु¥याए र बचाए। स्थानीय सरकार प्रमुखका रुपमा उनले कोभिडबाट आक्रान्त पालिकाबासीलाई ठाउँका ठाउँ राहत पु¥याउने व्यवस्था मिलाए ।
यस्तै, खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थलदेखि याम्खा जोड्ने सडक निर्माण सुरु गराए। सोही सडक खण्डमा पर्ने साप्सुखोलामा पक्की पुल बनाउन पहल गरे। प्रधानमन्त्री शेरबहादुर देउवालाई ल्याएर उद्घाटन गराए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा विजयी राईले उदाहरण बनेर पाँच वर्ष विताए ।
सदरमुकाम दिक्तेलमा बसेर लेखा परीक्षण गर्ने महालेखा विरुद्ध विरोधमा उत्रिए। महालेखालाई गाउँपालिकाको केन्द्रसम्म पुग्न वाध्य बनाए। स्थानीय सरकार दर्विलोशैलीमा सञ्चालन गरेका उनै भुपेन्द्र हाल गठबन्धनकातर्फबाट प्रदेशसभा (ख)का उम्मेदवार छन्। गाउँपालिकामा नमूना काम गरेर देखाउन सफल राई प्रदेशसभा (ख) भरी आफ्नो क्षमता प्रदर्शन गर्ने योजनामा रहेको बताउँछन्।
अन्तरसंघर्षबाट उदाएका नेता
कुशल संगठक रहेका राई कांग्रेस राजनीतिमा जवरजस्त नेताका रुपमा उदाएका हुन्। उनको जन्म २०३५ साल असार १५ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको राटामाटामा भएको हो। गाउँकै महेन्द्रोदय प्रावि लिलिबाट प्रारम्भिक शिक्षा सुरु गरेका राईले २०५२ सालमा महेन्द्रोदय मावि डाडाँगाउँबाट एलएलसि उत्तिर्ण गरे।
रत्नराज्य लक्ष्मी क्याम्पस, काठमाडौंबाट विए, २०६२–०६३ सालमा त्रिभुवन विश्व विद्यालय किर्तीपुरबाट इतिहासमा ‘गोल्ड मेडलिष्ट’ बनेर स्नातकोत्तर पुरा गरे। उनलाई अहिले पनि ‘गोल्ड मेडलिष्ट’ नेता भनेर चिनिन्छ। एसएलसि उत्तिर्ण भएसँगै विद्यार्थी राजनीतिमा क्रियाशिल बनेका राई २०५५ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघ इकाई उपसभापति र सोही वर्षको स्ववियु निर्वाचनमा नेविसंघकातर्फबाट उपसभापतिको उम्मेद्वार बने। २०५७ मा रत्नराज्य लक्ष्मी क्याम्पसको नेविसंघ इकाई सभापति बनेका राई त्यही वर्ष भएको स्ववियु निर्वाचनमा सभापतिका उम्मेदवार बने।
२०६० सालमा सोही क्याम्पसको स्ववियु निर्वाचनमा सभापतिका उम्मेद्वार बने तर पराजित भए। तत्कालिन नेविसंघका सभापति प्रदीप पौडेल थिए। राई पौडेलकै कार्यकालमा २०६३ सालमा नेविसंघको केन्द्रीय सदस्य बने। २०६८ सालमा नेपाली कांग्रेस विद्यार्थी विभागको केन्द्रीय सदस्य बनेर जिल्ला फर्के। कांग्रेसको पाँचौ जिल्ला अधिवेशन अन्तर्गत क्षेत्रीय सभापतिमा बन्ने उनको प्रयास विफल भयो। यद्यपि केही समयपछि उनलाई जिल्ला सदस्य र संगठन विभाग प्रमुखको जिम्मेवारी प्राप्त भयो। छैठौं जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा छानिएका राई २०७८ साल मंसिरमा भएको कांग्रेसको सातौ जिल्ला अधिवेशनबाट पनि संघीय महाधिवेशन प्रतिनिधि चुनिए।
२०७८ सालमा भएको अधिवेशनमा प्रदेश (ख) बाट दरविलो शक्तिका साथ आएका राई प्रदेश अधिवेशनमा महामन्त्री पदमा भारी मत ल्याएर विजयी भए। राई हाल १ नम्बर प्रदेशको महामन्त्री छन्।
दुःख सुखका सारथी
गाउँपालिका अध्यक्षको जिम्मेवारीमा रहेका बेला राई जहिल्यै जनताको सुख दुःखमा उभिए। बाढी, पहिरो, आगलागी जस्ता विपदमा परेका जनताको घरमा तत्कालै पुगे र राहत बाँडे।
६५ वर्षमाथिका नागरिकलाई पालिकाभित्र तथा पालिकादेखि दिक्तेल–गाईघाट आउजाउ गर्न गाडीमा निःशुल्क यात्राको व्यवस्था, जन्मेदेखि दुई वर्षसम्मका बालबालिकालाई मासिक एक हजार शिशु पोषण भत्ताको व्यवस्था मिलाए। धिप्लुङ झरनाको सौन्दर्यकरणको काम गरे। काम अनुसारको भुक्तानी गरेर विभिन्न योजनाबाट करोडौं रकम फिर्ता गराए। पालिकामा शिक्षक अनुदान कोटाको व्यवस्था गरे।
माझी सामुदायका बालबालिकालाई लक्षित गर्दै पञ्चकौशिका आधारभुत विद्यालय भण्डारेघाटलाई माविमा स्तरोन्नती गरिदिए। फोक्सिङटारको पुल निर्माणमा दवाव दिन अग्रसर भए। बतासेको भीरचुङमाडाँडामा प्याराग्लाइडिङको सम्भावना रहेको परीक्षण गरेर देखाए। उनै भुपेन्द्र गाउँपालिकालाई पाँच वर्ष सफलतापुर्वक हाँकेको अनुभवलाई प्रदेशमा उपयोग गर्ने जमर्कोमा छन्।
उनको प्रतिष्पर्धा प्रदेशसभा (ख) मा एमालेका रामप्रसाद दंगालसँग छ। गठबन्धनको मतले आफ्नो जीत हुनेमा राई ढुक्क छन्।
