
खोटाङ, मंसिर २ । खोटाङमा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभयो ।
मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री लिएर बिहिबार पुगेका कर्मचारी र सुरक्षाकर्मीको टोलीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भंग गर्न निषेध सम्वन्धी सूचना टाँस गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय मतदान स्थलको ‘ख’ मतदान केन्द्रका सहायक मतदान अधिकृत इरन राईका अनुसार शुक्रबार सर्वदलीय बैठक बसेर आचारसंहिता निर्माण गर्ने कार्य भएको छ । यस्तै मतदनान स्थलमा पस्ने गेट निर्माण र कर्मचारी परिचयपत्र बनाउने काम भएको उहाँले बताउनुभयो ।

खोटाङमा निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र करीब १८ सय सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन् । उनिहरुले मतदान स्थलको तयारी अन्तिम चरणमा पुराएका छन् भने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत पेटिका राख्ने र तारजालीले घेरेर मत गणना स्थल बनाउने काम धमाधम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यादवले बताउनुभयो ।
४ गते अपरान्ह ५ बजे मतदान गर्ने समय सकिएपछि मुचुल्का उठाएर मत पेटिका दिक्तेल ल्याइने यादवको भनाइ छ । ५ गते राजनीतिक दलहरुको सहमतीमा मतगणना गर्न सुरु गरिनेछ । ३ स्थानमा मत गणना हुनेछ भने सुरुमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना हुनेछ । त्यसपछि प्रदेशसभाको सकेर समानुपातिकको मतगणना हुने यादवले बताउनुभयो ।
खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
