
खोटाङ, मङ्सिर १० । नेकपा एमालेले खोटाङमा पाएको मत अनुसार हीनताबोध गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । प्रतिनिधिसभाका उम्मेद्वार विशाल भट्टराईले शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै स्थानीय तहमा पार्टीले पाएको मत भन्दा प्रतिनिधिसभा र प्रदेशसभामा बढी मत पाएकाले हीनताबोध हुनुपर्ने अवस्था एमालेको नरहेको बताउनुभएको हो ।
भट्टराईले भन्नुभयो, ‘स्थानीय तहको चुनावमा नेकपा एमालेले पाएको मत भन्दा गठबन्धनमा आबद्ध दलले पाएको मत जोड्दा उनिहरु बलिया देखिन्थे तर हामीले प्रतिनिधिसभामा धेरै मत पायौँ, झिनो मतले हारेका छौँ । यसमा नेकपा एमाले हीनताबोध भन्दा उत्साहित भएको छ ।’ अन्य पार्टीको धेरै मत तान्न सकेपनि आवश्यक मत तान्न नसक्दा पराजित भएको उहाँको भनाइ छ ।
सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको परिणाम अनुसार खोटाङसँगै देशैभरी गठबन्धन असफल भएको भट्टराईको टिप्पणी छ । ‘देशमा अहिले अस्थिरता पैदा भएको छ र यसको कारण गठबन्धन हो । यो चुनावले अबको पाँच वर्ष स्थिर सरकार नबन्ने निश्चित भइसकेको छ । त्यसैले देशलाई दुर्घटनामा पुर्याउने अहिलेको गठबन्धन असफल भइसक्यो, त्यो कुरा जनताले उनिहरुलाई दिएको मतले पुष्टि गर्छ ।’ भट्टराईले भन्नुभयो,
यस्तै, अहिले नयाँ अनुहारको लहर देशमा भएकाले आफु पनि पराजित भएको उहाँको भनाइ छ । तर देशमा चलिरहेको लहर धेरै समय नटिक्ने उहाँले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै, देशमा विकास र समृद्धिका लागि अहिलेका ठुला दल नै आवश्यक रहेकाले केही समयकालागि उदायका अस्थायि दलहरु चाडै बिलाएर जाने भट्टराईको भनाइ छ ।
‘एक्ला एक्लै चुनाव लडेको भए एमाले एक्लैले बहुमत ल्याउने रहेछ । देशैभरी एमालेका उम्मेद्वारले पाएको मतले त्यही बताउछ । यदि एक्ला एक्ले लडेको भए खोटाङमा पनि मैले जित्नेरहेछु, त्यो कुरा मैले पाएको मतले देखाउछ । हामी खोटाङमा एमाले एक ढिक्का छौँ, एमालेका उम्मेद्वारलाई सबैले सहजरुपमा स्विकार्नु भयो, कुनै विवाद आएन, त्यसैले हामीले धेरै मत पायौँ ।’ भट्टराईले भन्नुभयो ।
विभिन्न आरोप लाएर जनताको आँखामा छारो हाल्न खोजेपनि पार्टीले समानुपातिकमा पाएको मत भन्दा धेरै मत आफुले पाएको उहाँको भनाइ छ । जसले गर्दा विशाल भट्टराईलाई जनताले कुन आधारले चिन्छन् भन्ने कुरा प्रष्ट भएको उहाँले बताउनुभयो । निर्वाचनमा पराजित भएपनि खोटाङबाट अन्त बसाइँ सरेर कतै नजाने उहाँले बताउनुभयो । खोटाङको विकासमा सधै लागिरहने प्रतिबद्धतासमेत भट्टराईले व्यक्त गर्नुभएको छ ।
भट्टराई गठबन्धनका उम्मेद्वार नेकपा माओवादीका रामकुमार राई (पासाङ) सँग २ हजार ६ सय ६९ मतले पराजित हुनुभएको थियो । पराजित भएपनि भट्टराई र प्रदेशसभा (ख) मा पराजित रामप्रसाद दंगालले गठबन्धनको विजयी जुलुसमा पुगेर विजयी उम्मेद्वारहरुलाई बधाइ दिनुभएको थियो । एमालेका दंगाल कांग्रेसका भुपेन्द्र राईसँग २ हजार १ सय ४० मतले पराजित हुनुभयो । प्रदेशसभा (क) मा भने गठबन्धनका उम्मेद्वार एकीकृत समाजवादीका वीरबलकाजी राईलाई पराजित गर्दै एमालेका पिके राई विजयी हुनुभएको छ ।
