Wednesday, September 16News That Matters

खोटाङ सेवा समाज कतारद्धारा जिल्ला कारागारलाई पुस्तक सहयोग


खोटाङ, मङ्सिर १० । खोटाङ सेवा समाज कतारले जिल्ला कारागार खोटाङलाई पुस्तक सहयोग गरेको छ । कारागारमा जेल जीवन बिताइरहेका कैदिबन्दीलाई लक्षित गर्दै सेवा समाजले विभिन्न प्रकारका पुस्तकहरु सहयोग गरेको हो । कारागारमा यस अघि नै पुस्तकालय स्थापन भइसकेको छ । जसमा आवश्यक पुस्तकसँगै अन्य समाग्री सेवा समाजले कारागारलाई सहयोग गरेको बताइएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह लगायतको हातबाट सेवा समाजले पुस्तक लगायतका अन्य आवश्यक सामाग्री हस्तान्त्रण गरेको छ । २ सय ५५ थान पुस्तक, २ थान पुस्तक राख्ने र्‍याक र एक/एक थान टेबल र बेन्च कारागारलाई प्रदान गरिएको खोटाङ सेवा समाज कतारका वरिष्ठ उपाध्यक्ष डिल्लीशेर खड्काले बताउनुभयो ।

विभिन्न कारणले जेलमा सजाय भोगिरहेका ब्यक्तिहरुले पुस्तक पढेर नयाँ ज्ञान आर्जन गरुन भन्ने उद्धेश्यले पुस्तक प्रदान गरिएको वरिष्ठ उपाध्यक्ष खड्काको भनाइ छ । पुस्तक लगायत सामाग्री बुझ्दै निमित्त जेलर सोमप्रसाद आचार्यले सहयोगार्थ पुस्तक अध्ययन गरेर कैदिबन्दीहरुले नयाँ कुरा सिक्न पाउने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं नगरपालिकाका उपप्रमुख राईले राम्रो काम गरेको भन्दै सेवा समाज कतारलाई धन्यवाद दिनुभयो ।

कालिका माध्यमिक विद्यालयमा अक्षकोष स्थापन, सिद्धेस्वरी माध्यमिक विद्यालय खिदिमामा छात्रवृतिकोष स्थापना, पञ्च माध्यमिक विद्यालय दिक्तेललाई प्राविधिक कक्षा सञ्चालनमा आर्थीक सहयोग, जिल्लामा एउटा एम्बुलेन्स सञ्चालन लगायतका कामहरु खोटाङ सेवा समाज कतारले गरेको छ । रोजगारीको सिलसिलामा कतार पुगेका ब्यत्तिहरुले २०५४ सालमा स्थापना गरेको उक्त सेवा समाजले देश तथा विदेशमा समस्यामा परेका नेपालीहरुलाई विगतका दिनहरुमा सहयोग गर्दै आएको उपाध्यक्ष खड्काले बताउनुभयो । आगामि दिनहरुमा पनि विभिन्न क्षेत्रमा काम गर्दै जाने उहाँको भनाइ छ ।