Friday, April 17News That Matters

रावा बेसी : खाने तेलमा आत्मनिर्भर बन्न कृषकलाई तोरीको बिउ वितरण

कृषकलाई तोरीको बिउ वितरण गर्नुहुँदै पालिका अध्यक्ष श्रेष्ठ र प्राविधिक समुह

खोटाङ, मंसिर १५ । खोटाङको रावा बेसी गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेको छ । पालिका भित्रका अधिकांश भूभागमा तोरी खेती हुनेभएकाले तेल बाहिरबाट आयत गर्न रोक्ने योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

रावा बेसी गाउँपालिकामा तेलहन बाली उत्पादनको लागि उर्वरभुमि हुँदाहुँदै पनि करोडौँको खाध्य तेल आयत भइरहेकाले पालिकाले तोरी खेती गर्ने कार्यक्रम सुरु गरेको पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । केही समय अघि ६ वटै वडाको तोरी खेती हुने भूभागको छनोट गरेर कृषकहरुबाट पालिकाले आवेदन माग गरेको थियो । कृषकहरुले दिएको आवेदनको आधारमा तोरीको बिउ वितरण गर्न सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वडा नम्बर १ कुभिण्डेको खैरेनि, चालिसे, कुखुरे र वेल्टार, वडा नम्बर २ खार्पाको दसमुरे र जलजले, वडा नम्बर ३ लामिडाँडाको तिर्पा बेँसीको भूभाग तोरी खेतीकालागि छनोट भएका छन् । यस्तै, वडा नम्बर ४ डुम्रे धारापानीको कटहरे बेँसी र खार्पाटार, वडा नम्बर ५ दुवेकोलको राउटार र वडा नम्बर ६ हौँचुरको हौँचुर बेँसी, गिद्दे बेँसी, टार बेँसी र भैसे टारलाई तोरी खेतीकालागि गाउँपालिकाले छनोट गरेको कृषि प्राविधिक उद्धप बास्तोलाले जानकारी दिनुभयो । छनोटमा परेका क्षेत्रका ६ सय ५० जना कृषकले आवेदन दिएका छन् ।

आवेदन आएका कृषकको जग्गा र सिँचाइको अवस्था हेरेर बिउ तिरण गर्ने गरिएको उहाँको भनाइ छ । कृषकलाई वितरणकालागि पालिकाले १ हजार २ सय ६० केजी तोरीको बिउ खरिद गरेको छ । हालसम्म वडा नम्बर १,३,४ र ५ मा बिउ वितरण भइसकेको छ । वडा नम्बर २ र ६ मा केही दिनभित्रमा वितरण गरिने कृषि प्राविधिक बास्तोलाले बताउनुभयो ।

कृषकहरुको माग अनुसार तोरीको बिउ अपुग भएमा पुनः पालिकाले खरिद गरेर बिउ प्रदान गर्ने पालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । जतिसक्दो धेरै तोरी उत्पादन गरेर पालिकालाई खानेतेलमा आत्मनिर्भर बनाइने उहाँको भनाइ छ । तोरी पेल्नको लागि पालिकाले मिल पनि सञ्चालनमा ल्याउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।