Thursday, April 16News That Matters

हलेसी मन्दिर वरीपरी २६ शौर्यबत्ती जडान, १२६ जडान गर्ने तयारी


खोटाङ, मङ्सिर १५ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेव स्थानस्थित त्रि–धार्मिकस्थल हलेसी मन्दिर परिसरमा २६ वटा शौर्यबत्ती जडान गरिएको छ । अन्य १ सय २६ शौर्यबत्ती जडान गर्ने तयारी गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका र महादेवस्थान वडा कार्यालयको प्रस्तावमा उज्यालो हलेसी कार्यक्रम अन्तर्गत १ नं.प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयको १० लाख बजेटमा २६ वटा बत्ती जडान भएको महादेवस्थानका वडाध्यक्ष तथा नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । अन्य १ सय २६ वटा बत्ती जडानकालागि १ करोड बजेट विनियोजन भइसकेको छ । जसकालागि बत्ती जडानमा आवश्यक तार लगायतका सामाग्री आइसेको गिरीले बताउनुभयो ।

हालको २६ वटा बत्ती महेन्द्रोदय माविको छानामा १२ थान सोलार प्यानल राखेर आठ वटा ब्याट्रीमार्फत एक केभीए विद्युत उत्पादनबाट सञ्चालनमा आएको हो । बत्ती जडानकालागि प्रदेशबाटै सामान र प्राविधिक टोली आएको थियो । बत्ती जडान भइसकेपछिको मितिबाट भने मर्मतसंभार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्ने उहाँको भनाइ छ ।

अन्य १ सय २६ वटा बत्ती जडानकालागि भने हेलीप्याडडाँडामा विद्युत गृह निर्माण गरीने छ । बत्ती नहुँदा साँझमा तथा बिहानै मन्दिर दर्शन गर्न जाने तीर्थालु भक्तजनलाई असहज भईरहेको अवस्थालाई ध्यानमा राखेर मन्दिर परिसरमा बत्ती जडाको कार्य अघि बढाइएको वडाध्यक्ष गिरीले बताउनुभयो ।