Thursday, April 16News That Matters

हलेसी तुवाचुङमा फस्टाउदै कपास खेती

कपास खेतीको अनुगमन गर्नुहुँदै मेयर बिमला राई र वडाध्यक्ष कमल गिरी

खोटाङ, मङ्सिर १६ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिकेमा कपास खेती फस्टाउदै गएको छ । दुई वर्ष अघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेती अहिले फस्टाउदै गएको हो ।

आर्थीक वर्ष २०७७/०७८ मा १० लाख बजेट बिनियोजन गरेर कपास खेतीलाई प्रवद्र्धन गर्न सुरु गरेको नगरपालिकाले अहिले पनि निरन्तर दिदै आएको छ । पुर्खाको पालामा हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका धेरै ठाउँमा कपास खेती हुने गरेको थियो । कपासबाट खाँडीका कपडा उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेको त्यस क्षेत्रका पुर्खाहरुको भनाइ छ । लोपोन्मुख बनेको कपास खेती र खाँडीका कपडाको संरक्षण र प्रवद्र्धन गर्नु नगरपालिकाको दायित्व रहेकाले बजेट बिनियोजन गरेरै काम सुरु गरिएको नगरपालिकाका मेयर बिमला राईले बताउनुभयो ।

‘म यस नगरको उपमेयर हुँदै गर्दा मेरै नेतृत्वमा कपास खेती प्रवद्र्धन कार्यक्रम सुरु गरिएको थियो । सुरुमा हामीले विभिन्न समुह मार्फत थोरै जग्गामा कपास खेती सुरु गरेका थियौँ । अहिले करीब ८० रोपनी जग्गामा कपास खेती भइरहेको छ ।’ पछिल्लो समय रोजगारको लागि धेरै मानिसहरु बिदेश जाने गरेका छन्, तर हाम्रो पुर्खौली पेसाबाट पनि हामीले जिविको पार्जन गर्न सक्छौँ भन्ने सोँचले पुर्खौउली पेसालाई जोउँदै कृषकलाई सोही पेसाबाट आत्मनिर्भर बनाउने उद्श्यले हामीले यस कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढाइरहेका छौँ । मेयर राईले भन्नुभयो ।

कपास खेतीकालागि नगरपालिकाले चालु आर्थीक वर्षमा रु २० लाख बजेट बिनियोजन गरेको छ । नगरपालिका–७ स्थित साविकको ६ र ९ नम्बर वडामा कपास खेती गरिएको छ । त्यहाँका करीब ६० घर परिवारले कपास खेती गरिरहेका छन् । सुरुमा कपास खेती गर्न नजान्दा रोग लागेर समस्या भएपनि अहिले सहज भएको कपास खेती गरिरहनुभएका गंगा राईले बताउनुभयो ।

यस्तै, कपास उत्पादन गरेर सिरानी, डस्ना, सिरक लगायतका समाग्री बनाइरहेको जुना राईले बताउनुभयो । बिस्तारै खाँडीको कपडा बुन्ने योजना रहेको उहाँहरुको भनाइ छ । नगरपालिकाले पनि खाँडीको कपडा बुन्ने तालिम आयोजना गर्ने योजना बनाएको मेयर राईले बताउनुभयो ।

स्थानीय जुनासरी राईले भने अहिले पनि आफैले उत्पादन गरेको कपासबाट खाँडीको कपडा बुनिरहनु भएको छ । राईको घरमा पुग्दा खाँडीको तान मझैले देख्न सकिन्छ । दौरासुरुवाल पुग्ने कपडा प्रतिथान २० हजारमा बिक्री हुने राईले बताउनुभयो । ‘पहिले हाम्रो पालामा खाँडीको कपडाको चलन थियो, पछि अन्य कपडा आएपछि सबैले भुले, फेरी अहिले नयाँ युवाहरुले यसलाई मन पराउन थालेका छन्, धेरैले माग गर्छन तर के गर्नु ७९ वर्ष पुगेँ, अब त कान सुन्न आँखा देख्न छाडेँ, कपडा बनाउन झ्याउ हुन्छ, त्यही पनि यसो दुःख गर्दै छु ।’ जुनासरी राई भन्नुहुन्छ ।

यस्तै, त्रि–धार्मिकस्थल हलेसी मन्दिर नजिकै रहेकाले कपासको बजारीकरणको चिन्ता नरहेको महावेदस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरी बताउनुहुन्छ । स्थानीयले जति कपास उत्पादन गरेर पनि मन्दिरमा आवश्यक विभिन्न सामाग्री निर्माण गर्न खपत हुने गिरीको भनाइ छ ।

कपासबाट खाँडीको कपडा बुन्नुहुँदै जुनासरी राई