
खोटाङ, मंसिर १९ । कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा खोटाङले नयाँ कार्य समिति चयन गरेको छ । क्यानको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सोमबार विमला राईको अध्यक्षतामा ७ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
क्यानको उपाध्यक्षमा कुमार बजिमय, सचिवमा खिला प्रसाद आचार्य, सह–सचिवमा प्रेमकुमार अधिकारी, कोषाध्यक्षमा राजु भट्टराई, सदस्यमा अजय बस्नेत र विनोद बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । निर्वाचन समितिका संयोजक अधिवक्ता ओम प्रकाश घिमिरेले नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
खोटाङ उद्योग वाणिज्य महासंघको कार्यालयमा क्यानका निर्वतमान अध्यक्ष मनोज कुमार बजिमयको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, खोटाङ उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समुन्द्र प्रसाद जोशी, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्री लगायतको उपस्थिति रहेको थियो ।

कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ) को पहिलो पटक ६ फागुन २०७७ मा खोटाङमा समिति गठन भएको थियो ।
