
खोटाङ, मंसिर १८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी डेनिका राईले विश्व मुवाँथाई च्याम्पियनसिपको तेस्रो स्थान हासिल गरेकी छिन् । थाइल्यान्डमा सम्पन्न विश्व मुवाँथाई च्याम्पियनसिपको १७औं संस्करणमा राईले तेस्रो स्थान हासिल गरेकी हुन् ।
थाइल्यान्डको पटायामा आयोजना गरिएको विश्व मुवाँथाई च्याम्पियनसिपमा २० देशका खेलाडीहरु सहभागी थिए । नेपालको प्रतिनिधित्व गरेर प्रतिस्पर्धा गर्न गएकी राई अन्य १७ देशका खेलाडीलाई पछि पार्दै तेस्रो भएकी हुन् ।
नेपालबाट उक्त प्रतियोगितामा भाग लिन गुणराज रुचाल र डेनिका राई छनोट भएर थाइल्यान्ड गएका थिए । गुणराजले पुरुष ५७ केजी तौल समूह र डेनिका राईले महिला ४८ केजीमा प्रतिस्पर्धा गरेका हुन् ।
मुवाँथाईको विश्व च्याम्पियनसिपमा भाग लिन गएकी डेनिका राईलाई हलेसी तुवाचुङ नगरपालिकाले रु १ लाख सहयोग गरेको थियो ।
