Saturday, April 18News That Matters

हलेसी तुवाचुङ भन्छ खोइ पानी ? ठेकेदार भन्छ अब दुई महिनामा आउँछ

(बृहत पम्पिङ) खानेपानी आयोजनाको विषयमा नगरपालिकाको कार्यालयमा भएको छलफल

खोटाङ, मंसिर १८ । हलेसी तुवाचुङ नगरपालिकाका नागरिकको घरघरमा (बृहत पम्पिङ) मार्फत खानेपानी पु¥याउने भनिएको ५ वर्ष बितिसक्दा पनि आयोजनाको काम सकिएको छैन् । वि.स. २०७४ सालबाट सुरु भएको आयोजनाको ४ पटक म्याद थपिदा पनि काम अझै सम्पन्न नभएको हो ।

दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्य राखिएको आयोजनाको काम सम्पन्न हुने कुनै छाटकाट नदेखिएपछि नगरपालिका ‘एक्सन’ मा आएको छ । शनिबार जनप्रतिनिधि, संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रतिनिधि, उपभोक्ता समिति लगायतको छलफल आयोजना गरेर निर्माण कम्पनीलाई नगरपालिकाले खोइ पानी भन्दै प्रश्न गरेको छ । जवाफमा निर्माणको जिम्मा पाएका तिनै वटा निर्माण कम्पनीका प्रतिनिधिले अबको दुई महिनामा पानी ल्याउने बताएका छन् । दुई महिनामा काम सम्पन्न गर्नेगरी उनिहरुले कागजमा हस्ताक्षरसमेत गरेका छन् ।

सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाका नागरिकको घरमा दुधकोसीको पानी ल्याउने भनेर काम सुरु भएको पाँच वर्ष हुँदा पनि पानी नआउदा जनप्रतिनिधिले गाली खानु परेको मेयर विमला राईले बताउनुभयो । तर निर्माण कम्पनी भने कानमा तेल हालेर बस्दा सास्ती भएकाले तोकिएको समयमा काम सम्पन्न नभए कारबाहीको प्रकृयामा जाने मेयर राईको भनाइ छ ।

दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको काम ३१ करोड ७५ लाख ९६ हजार (भ्याट वाहेक)मा दिवा–महादेव खिम्तीले जिम्मा लिएको थियो । उक्त कम्पनीका प्रोजेक्ट मेनेजर प्रतिक पौडेलले दुई महिनाभित्र काम सम्पन्न गर्ने भन्दै प्रतिवद्धता सहित निर्णयमा हस्ताक्षर गरेका छन् ।

यस्तै, काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजारमा लिएका हो । भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का ३७ करोड ९३ लाख ५७ हजारमा लामा कन्ट्रक्सनले लिएको हो । यि दुवै निर्माण कम्पनीका प्रतिनिधिले पनि दुइ महिनामा काम सक्ने भन्दै हस्ताक्षर गरेका छन् ।

करीब एक अरबको (बृहत पम्पिङ) खानेपानी योजनाको जिम्मा लिएका तीन वटै कम्पनीले चार पटक म्याद थपिसकेका छन् । अन्तिम पटक थपिएको म्याद आगामि चैत ३० गते सकिने संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताउनुभयो । हालसम्म दिवा–महादेव खिम्तीले ८३ प्रतिशत, रमन सगरमाथा–सगरमाथा घिमिरेले ७०.५ प्रतिशत र लामा कन्ट्रक्सनले ७६.५ प्रतिशत काम सम्पन्न गरेको उहाँको भनाइ छ ।