Wednesday, April 15News That Matters

खोटाङका सरस्वती बजिमय कांग्रेसबाट समानुपातिक सांसदमा छनोट


खोटाङ, मंसिर २४ । नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ जनाको नाम टुंगो लगाएको छ । जसमा खोटाङबाट कांग्रेसको केन्द्रिय सदस्य सरस्वती बजिमयको नाम पनि समावेश भएको छ । बजिमय आदिवासी जनजातिबाट कोटाबाट सांसद बन्नुभएको हो ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुङ्गो लगाएको महामन्त्री गगन थापाले बताउनुभयो । संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ ।

थापाका अनुसार कांग्रेसले खसआर्यको पहिलो नम्बर रहेका डा.प्रकाशशरण महत, मधेसीको पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितको पहिलो नम्बरमा रहेका जीवन परियारलाई सांसद बनाउने निर्णय भएको छ । आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ, थारुको पहिलो नम्बरमा रहेका योगेन्द्र चौधरी, मुस्लिमको पहिलो नम्बरमा रहेका फरमुल्लाह मन्सुरलाई रोकेर कांग्रेसले महत, निधि र परियारलाई मौका दिएको छ ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीको क्रमअनुसार खस–आर्य महिलाबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला, कान्तिका सेजुवाल र मैना रावल कार्कीलाई सांसद बनाउने छ । आदिवासी जनजातिबाट सरस्वती बजिमय, लीलादेवी बाखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापा मगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ र रेनुका काउचा सांसदमा निर्वाचित हुनेछन् ।

यस्तै मधेसी कोटाबाट पुरुषको १ नम्बरमा नाम रहेका निधि छनोट हुँदा चार जना महिलाले अवसर पाउने भएका छन् । जसमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल सांसद बन्ने हुनुभएको छ । दलिततर्फ ५ जनाको प्रतिनिधित्व हुनेछ । यसमा पुरुषतर्फ सहमहामन्त्री परियारलाई सांसद बनाउने निर्णय पार्टीले लिए चार महिला सांसद हुनेछन् ।

दलितबाट महासनाई नेपाली, शान्ति विक, रूपा विक र सीता मिजार सांसदमा निर्वाचित हुने पक्का भएको छ । मुस्लिमतर्फ कम्तीमा एक जनाको प्रतिनिधित्व गर्दा जावेदा खातुन सांसद बन्नुहुनेछ । थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेतलाई सांसद बनाउने कांग्रेसले निर्णय गरेको छ ।