Wednesday, April 15News That Matters

तलब बिनाको समितिको पदमा बस्न होडबाजी, दुई पटकको भेलाले पनि समिति छान्न सकेन

समिक्षालय हलमा साधरणसभामा भइरहेको विवाद

खोटाङ, पुस २ । खोटाङको दिक्तेलस्थित रम्बाखोला माझखोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत मंसिर २६ गतेकालागि दोस्रो वार्षिक साधरण सभा बोलायो । सभा सफल पार्न जिल्ला समन्वय समितिको समिक्षालय हलमा उपभोक्ता पनि भेला भए । तर ५१ प्रतिशत उपभोक्ता उपस्थित नभएपछि सभा स्थगीत भयो ।

खानेपानी संस्थाले पुनः साधरणसभा गर्ने भन्दै पुस २ गतेलाई मिति तोक्यो । दोस्रो पटक पनि गणपुरक संख्या नभएको भन्दै सभा स्थगीत गरियो । तर उपभोक्ताको आवश्यक संख्या उपस्थित नभएको भन्दा पनि हालको समितिले चाहेको मान्छे नयाँ समितिमा निर्वाचित हुन कठीन हुने अवस्था देखिएपछि सभा स्थगीत भएको बुझिएको छ । ‘एक उपभोक्ताले भने, के को कम मानिस उपस्थित भएको हुनु, धेरै उपस्थित भएका थिए, तर आफुले चाहेको मान्छे अध्यक्ष लगायतका पदमा पराजित हुने स्थिती देखिएपछि साधरणसभा स्थिगीत गरेका हुन् ।’ ‘त्यो पदमा बसेर न भत्ता आउछ न तलब आउछ तर पनि पदमा बस्न होडबाजी छ । यसो हेर्दा जोकोहीले बुझ्न सकिन्छ की समिति भित्र ठुलै चलखेल हुन्छ क्यार । उपभोक्ता समिति आजभोली खानेमेलो, पैसा कमाउने मेलो भएको छ, त्यसैले पदमा बस्न सबैको होडबाजी छ ।’ संस्थाको खानेपानी समितिका उपभोक्ताहरुको भनाइ हो यो ।

रम्बाखोला माझखोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षको लागि तीन जना आकांक्षी छन् । वर्तमान अध्यक्ष धनकुमार जोसि, उपाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ र सचिव नबराज जोसि नयाँ समितिको अध्यक्ष पदका आंकाक्षी हुन् । तीन जना बीच सहमती नभएपछि अध्यक्ष चयन गर्न चुनाव हुने देखिन्छ । स्रोतका अनुसार च्याखे थाप्न हालका अध्यक्ष धनकुमार जोसीले अध्यक्षमा उम्मेदेवारी दिएका हुन् । नवराज जोसीलाई अध्यक्ष स्विकार्नेगरी उनले उम्मेदेवारी फिर्ता लिने छन् । पुस २ गते शनिबार बोलाइएको साधरणसभामा नवराज जोसीको टीमको अन्य पदाधिकारी पराजित हुने आशंकाले सभा स्थगीत गरिएको उपभोक्ताहरुको आरोप छ । तर गणपुरक संख्या उपस्थित नभएकाले साधरणसभा स्थगीत गरिएको वर्तमान समितिले जनाएको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहिट) रुपैयाँको लागतमा खानेपानी आयोजना सञ्चालनमा उक्त ल्याइएको हो । सोही आयोजनाको उपभोक्ता समितिको नयाँ कार्यसमिति चयन गर्न अहिलेको होडबाजी देखिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र काउले मुहान भएको उक्त खानेपानी आयोजना सम्पन्न भएर उद्घाटन पनि भइसकेको छ । तर उक्त दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाले वितरण सुरु गरेको खानेपानीको महसुल महंगो भएको उपभोक्ताले गुनासो गरिरहेका छन् । न्यूनतम प्रतियुनिट १५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म महसुल निर्धारण हुँदा कतिपय सामान्य परिवारका उपभोक्ताले खानेपानी उपभोग गर्न सक्ने अवस्था नभएको स्थानीयहरुले बताएका छन् ।

रम्बाखोला माझखोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र पानीपोत महसुल शुल्क निर्धारण सुझाव समितिको १४ फागुन २०७८मा बसेको बैठकले १ युनिटदेखि ८ युनिटसम्म न्यूनतम २५० रुपैयाँ, ८ युनिटदेखि १५ युनिटको प्रतियुनिट १५, २० युनिटदेखि २५ युनिटसम्म प्रतियुनिट २५, २५ युनिटदेखि ३० युनिटसम्म प्रतियुनिट ५० र ३० देखि माथि प्रतियुनिट ७५ रुपैयाँ महसुल दर रेट निर्धारण गर्ने निर्णय गरेको थियो । आयोजनाले १ हजार २५ धारामार्फत पानी वितरण सुरु गरेको जनाएको छ ।

हाल उक्त खानेपानी उपभोग गरिरहेका उपभोक्ताहरुले महिनाको एक हजार देखि माथी रकम तिर्नुपरेको बताएका छन् । पुराना उपभोक्ताले हालको नयाँ मुहानको पानी प्रयोग गर्न १० हजार र नयाँ धारा जोड्न ६५ हजार माथी रकम तिरेको उपभोक्ताहरुको भनाइ छ । खानेपानी शुल्क महंगो लिनु, समितिको पदमा बस्न पनि होडबाजी हुनुले यस आयोजनामा ठुलो चलखेल भइरहेको उपभोक्ताहरु बताउछन् ।