Friday, April 17News That Matters

गाउँपालिका अध्यक्ष राईद्धारा आफुले पाएको राहत अर्का आगलागी पीडितलाई प्रदान


खोटाङ, पुस ९ । केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले आफुले पाएको राहत अरुलाई दिनुभएको छ । गत सोमबार बाक्सीला बजारमा साँझ दिपक गुरुङको घरबाट विद्युतको तार सर्ट भइ सुरु भएको आगलागीले पालिका अध्यक्ष राई भाडामा बसेको घरसहित बजार क्षेत्रका ५ घर जलेर नष्ट हुँदा ४ करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो ।

आगलागीबाट पीडित परिवारलाई १ नम्बर प्रदेश सरकारले बिहिबार राहत पठाएको थियो । प्रदेश सरकारले प्रदान गरेको उक्त राहत गाउँपालिका अध्यक्ष राईले अर्का आगलागी पीडितलाई दिनुभएको हो । केपिलासगढी गाउँपालिका–४ बाक्सीलाको साविक ५ नम्बर वडाका दिलकुमारी तामाङको बिहिबार आगो फुकेको ठाउँबाट सल्केर पुर्णरुपमा घर जलेर नष्ट भएको छ ।

आगलागीबाट पीडित तामाङलाई शनिबार बोलाएर पालिका अध्यक्ष राईले आफुले पाएको त्रिपाल, २ बोरा चामल, ३ थान कम्मल, ५/५ केजी दाल र चिनि प्रदान गर्नुभएको हो । ‘म गाउँपालिका अध्यक्ष अर्थात जनप्रतिनिधि भएको कारण मैले आफुलाई भन्दा अरुलाई हेर्नुपर्छ । म त आफु व्यवस्थापन गर्न सक्छु, तर बहिनि दिलकुमारी तामाङलाई समस्या छ । त्यसैले केही सहज होस् उहाँलाई भनेर मैले पाएको राहत दिएको हुँ ।’

घर आगलागीबाट जलेर नष्ट भएपछि दिलकुमारी एक छोरा र एक छोरीसहित आफन्तकोमा बसिरहनु भएको छ । दिलकुमारीको श्रीमान काठमाण्डौमा रहेका छन् । तर उनिहरुको सम्बन्ध राम्रो नरहेको बुझिएको छ ।