
खोटाङ, पुस ९ । खोटाङ जिल्लाको प्रवेशद्धार जयरामघाटमा सौर्यबत्ती जडान गरिएको छ । हलेसी तुवाचुङ नगरापलिका–१ जयरामघाटमा नगरपालिकाले सौर्य सडक बक्ती जडान गरिएको हो ।
नगरपालिकाको चालु आर्थीक वर्षको कार्यक्रम अनुसार जयरामघाटमा पाँच वटा सौर्यबक्ती जडान गरेर शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । सेन्सर (अँध्यारोमा आफै बल्ने उज्यालोमा आफै बन्द हुने आधारमा सौर्यबत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ ।
जिल्लाको मुख्य प्रवेशद्धार जयरामघाटमा रातीको समयमा यात्रुलाई सहजतासँगै प्रवेशद्धारको सौन्दर्यको लागि सौर्यबत्ती जडान गरिएको नगरपालिकाका उप–मेयर रमेश कुमार राउतले बताउनुभयो । ‘जयरामघाट जिल्लाको प्रमुख प्रवेशद्धार हो । बाहिरबाट पर्यटकहरु जिल्ला प्रवेश गर्दै गर्दा सुरुवाती स्थानले नै बताउछ की जिल्लाको विकास लगायतको अवस्था कस्तो छ भनेर । त्यसैले जिल्लाको मुख्य प्रवेशद्धारको सौन्दर्य निर्माण गर्ने नगरपालिकाले योजना बनाएको छ । सोही अनुसार अहिले सडकको छेउमा सौर्यबत्ती जडान गरेका छौँ । अब बिस्तारै सडकको छेउमा फूल रोप्ने लगायतका कार्य गरेर जयरामलाई एउटा सुन्दर बजार निर्माण गर्ने तयारीमा हामी छौँ ।’ उप–मेयर राउतले भन्नुभयो ।
नगरपालिकाले बिनियोजन गरेको रु पाँच लाख बजेटबाट उक्त सौर्यबत्ती जडान गरिएको हो । बाकी रहेको रकमले अन्य स्थानमा सौर्यबत्ती जडान गर्ने नगरपालिकाको तयारी छ । सौर्यबत्ती जडान गरेर सञ्चालनमा आएपनि त्यसको गुणस्तरको परिक्षण गरेर मात्र भुक्तनी दिने उप–मेयर राउतले बताउनुभयो ।
