Friday, April 17News That Matters

कुटपिट भएको भन्दै कर्मचारीको विरोध, घटनाको वास्तविकता के हो ?

विज्ञप्ति

खोटाङ, पुस १८ । कर्मचारी माथी कुटपिट भएको भन्दै रावा बेसी गाउँपालिको कार्यालयमा कार्यरत कर्मचारीले विरोध जनाएका छन् । सब इन्जिनियर विजय आचार्यालाई जनप्रतिनिधि र सुरक्षाकर्मीको सामुन्ने कुटपिट गरिएको भन्दै कर्मचारीले विज्ञप्ति निकालेर विरोध जनाएका हुन् ।

‘पौष १६ गते शनिबार दिउँसो १ बजेको समयमा आचार्यलाई ऐँसेलुखर्क गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी र रावा बेसी गाउँपालिकाका जनप्रतिनिधि समेतको सामुन्ने खाना खाएर बसिरहेको अवस्थामा केहि व्यक्तिहरुबाट निर्घात कुटपिट भई साङघातिक आक्रमण भएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ कर्मचारीको संयुक्त विज्ञप्तिमा लेखिएको छ ।

घटनामा संलग्न जो कोहिलाई चित्त नबुझेको विषयमा असमझदारीको वार्ता तथा कुनै माध्यमबाट समाधानको विकल्प र कानुनी उपचार खोज्ने ढोका खुल्ला हुँदा हुँदै राष्ट्रसेवक कर्मचारी प्रतिको पेशालाई अपमानित, मनोवल गिराउने र अभद्र व्यवहार गर्नु निन्दनीय कार्य रहेकाले घटनामा दोषि उपर कानुनी कारबाहीको माग कर्मचरीले विज्ञप्तिमार्फत गरेका छन् ।
विज्ञप्तिमा भनिएको जनप्रतिनिधि र सुरक्षाकर्मीको नाम भने खुलाइएको छैन् ।

घटनाको वास्तविकता के हो ?

रावा बेसी गाउँपालिका केहि कर्मचारी र जनप्रतिनिधि गत शुक्रबार तमु लोसार मनाउन वडा नम्बर ५ दुवेकोल गएका थिए । उक्त समुह त्यो दिन दुवेकालमै बसेर भोलीपल्ट शनिबार बिदाको दिन घुम्न भनेर ऐँसेलुखर्क गएका थिए । ऐँसेलुखर्क बजारस्थित पाहुना घर नामक होटलमा खाना खाएर सोही ठाउँमा बसेको बुझिएको छ । रावा बेसी गाउँपालिकामा कार्यरत पीडित भनिएका आचार्यसँगै सब इन्जिनियर शिव कुमार कार्की, स्वास्थ्य शाखा प्रमुख कौसल अधिकारी, स्वास्थ्यकर्मी भोजराज अधिकारी, वडा नम्बर ५ दुवेकोलका वडाध्यक्ष मनकुमार गुरुङ, वडा नम्बर ६ हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्की र अन्य केहि व्यक्ति रावा बेसीको समुह थियो ।

दिउँसो करीब १ बजेको समयमा ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्र बहादुर राई, इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कमा कार्यरत इस्पेक्टर किरण राई र अन्य केहि व्यक्ति फुटबल खेलेर फर्किदा कफि पिउन भन्दै होटलमा प्रवेश गरेका थिए । होटलमा दुवै समुहको चिनजान अनुसार ढोकभेट भएपछि ऐँसेलुखर्कको समुह छुट्टै टेबलमा कफि खान बस्यो । केही समयपछि ऐँसेलुखर्कका अध्यक्ष राई र दुवेकोलका वडाध्यक्ष गुरुङ बिच सडक मर्मतको विषयमा कुरा भयो ।

सबै मिलेर भिरपानी र त्यसभन्दा तलको सडक मर्मत गरौँ भन्ने कुरा भइरहदा पीडित भनिने इन्जिनियर आचार्यले बिचमा आफ्नो सडक आफै बनाउनुनी भन्दै ठाडो बोलीमा अध्यक्ष राईलाई जवाफ दिएको प्रत्यक्षदर्शीको भनाइ छ । मद्यपान सेवन गरेका आचार्यले अन्य विषयमा पनि अपशब्द बोलेपछि अध्यक्ष राईले कुनै जवाफ दिएनन् । उक्त ठाउँबाट अध्यक्ष राई निस्किएर जादैगर्दा विज्ञप्तिमा भनिएका पीडित आचार्यले पिछाडीबाट हेलमेटले हान्न खोजेको प्रत्यक्षदशी बताउछन् । त्यसपछि अध्यक्ष राई र इस्पेक्टर राई लगायत भित्र कफी पिउन ब्यस्त भए ।

तर अध्यक्ष राईलाई हेलमेटले हान्न खोजेको विषय हल्ला भएपछि अन्य केही व्यक्ति आएर इन्जिनियर आचार्यलाई सोधपुछ गर्दै केही पर लगेर गए । अरुले सामान्य गफ होला भनेर वास्ता गरेनन् । तर केही पर गएपछि दोहोरो झडप सुरु भयो । त्यसपछि गाउँपालिका अध्यक्ष राई, इस्पेक्टर राई, दुवै वडाध्यक्ष, अन्य कर्मचारी लगाएतले छुट्टयाएको बुझिएको छ । झडपमा इन्जिनियर आचार्यको आँखा वरीपरि चोट लागेको थियो । त्यसपछि नजिकै रहेको एक मेडिकलमा डे«सिङ गराएर अन्य एक व्यक्तिसँग आचार्यलाई हरमटार पठाइयो । तर भोलीपल्ट उपचारको लागि भन्दै इन्जिनियर आचार्य काठमाण्डौ गएको बताइएको छ । ‘माथि उल्लेखित कुरा दुवै पक्षसँग बुझेर लेखिएको हो ।’

घटनाको यथार्त नबुझी गलत तरीकाले आरोप लगाएर कर्मचारीले विज्ञप्ति निकालेको जनप्रतिनिधिको भनाइ छ ।

उजुरी आएमा निष्पक्ष छानबिन हुन्छ

इन्जिनियर आचार्यले मद्यपान सेवन गरेर अपशब्द बोल्दा झगडा भएको भन्दै सामान्य रहेकाले आफै मिल्ने भनेपछि प्रहरी कार्यालय नलगिएको इस्पेक्टर किरण राईको भनाइ छ ।

‘आचार्यले अत्याधिक मद्यपान सेवन गरेका थिए । जसले गर्दा सामान्य झगडा भएको देखिन्छ । शनिबारको दिन भएकाले फरक पोसाकमा फुटबल खेलेर फर्किदा पालिका अध्यक्ष म लगायत होटलमा कफि पिउन छिर्यौ । घटना भएको समय म र अध्यक्ष ज्यु भित्रको कोठामा कफि पिउदै थियौँ । बाहिर झगडा भएको थाहा पाएर हामीले छुटट्यौँ । त्यसपछि झगडा गर्नेलाई चौकीमा लानलाई मैले साथीहरु बोलाए तर सामान्य रहेकाले आफै मिल्ने भनेपछि हामी फर्कियौँ । तर अहिले जनप्रतिनिधि र सुरक्षाकर्मीको सामुन्ने कुटिपिट भयो भन्दै विज्ञप्ति आएछ । मैल उतिबेलै उजुरी दिनुस हामी छानबिन गर्छौँ भन्दा पर्दैन सामान्य भनियो ।’ इस्पेक्टर राईले भने ।

यदि अहिले पनि प्रहरी कार्यालयमा आएर उजुरी दिए निष्पक्ष छानबिन गरेर दोषी जो देखिए पनि कारबाहि गरिने राईले बताए ।