Friday, April 17News That Matters

खार्मीलाई हराउदै ओखलढुंगा सेमिफाइनलमा प्रवेश


खोटाङ, पुस १९ । अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको मंगलबार भएको एक मात्र खेलमा मानेभन्ञ्याङ स्पोर्टस क्लव ओखलढुंगा विजयी भएको छ । खारम्बु स्पोर्टस क्लव खार्मी खोटाङलाई १–० गोलले पराजित गर्दै ओखलढुंगा सेमिफाइनलमा प्रवेश गरेको हो ।

दुवै टिमले केही सुन्दर अवसर पाए पनि निर्धारित समयमा गोल हुन सकेन । गोलरहित बराबरी पश्चात १० मिनेट समय थप गरिएको थियो । थप गरिएको समयमा ओखलढुंगाका जर्सी नम्बर १५ मनकृष्ण राईले गोल गर्दै आफ्नो टिमको जीत सुनिश्ति गरे । उनी खेलको म्यान आफ द म्याच पनि घोषित भए ।

ओखलढुंगाले अब सेमिफाइनलमा भोली हुने दिक्तेल फुटवल क्लब खोटाङ र मितेरी युवा क्लव मोरङ बिचको विजेतासँग खेल्ने छ । उक्त खेल भोली दिउसो ३ बजे हुने आयोजकले जनाएको छ । सेमिफाइनल पुग्न भोली दिउँसो १ बजे नेर्पा स्पोर्टस क्लव नेर्पा खोटाङ र साकेला गाउँपालिका खोटाङ प्रतिस्पर्धा गर्दै छन् । यी दुई टिमको बिजेताले सेमिफाइनलमा चियावारी फुटवल क्लव इलामसँग खेल्नेछ ।

माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी(केएफए)को सह–आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार, सेमिफाइनलिष्ट दुई टिमले २५÷२५ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाणपत्र पाउनेछन् । मेन अफ द टुनामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, हरेक प्रतियोगिताका म्यान अफ द म्याचले नगद दुई हजार पुरस्कार पाउनेछन् ।