Friday, April 17News That Matters

रावा बेसी गाउँपालिकाका कृषकलाई मौरी पालन तालिम

तालिम समापन पश्चातको सामुहिक तस्विर

प्रेम श्रेष्ठ
खोटाङ, पुस २३ । खोटाङको रावा बेसी गाउँपालिकाका कृषकलाई मौरी पालन तालिम प्रदान गरिएको छ । इको हिमाल नेपाल र गाउँपालिकाको संयुक्त आयोजनामा कृषकलाई सेरेना जातका मौरी पालनको तालिम प्रदान गरिएको हो ।

गाउँपालिका–५ दुवेकोलस्थित समान्तादेवी कृषि वन स्रोत केन्द्रको भवनमा प्रदान गरिएको ७ दिने तालिमको शनिबार समापन गरिएको छ । तालिममा हाल मौरी पालिरहेका एवं पाल्न इच्छुक ३५ जना कृषकको सहभागिता रहेको इको हिमाल नेपालका कृषि अधिकृत सुमन पराजुलीले जानकारी दिनुभयो ।

तालिमको सहजिकरण गोदावरी मौरी विकास केन्द्रमा लामो समय प्राविधिकको रुपमा कार्यरत अनुभवी पूर्व बाली संरक्षण अधिकृत सीताराम ढकालले गर्नुभएको थियो । आधुनिक तरिकाले मौरी पालन कसरी गर्न सकिन्छ भनेर तालिमबाट ज्ञान प्राप्त भएको सहभागि कृषकले बताएका छन् । आगामि दिनमा व्यवसायिकरुपमा मौरी पालन गर्न हौसला मिलेको उनिहरुको भनाइ छ ।

गाउँपालिका भित्र व्यवसायिक मौरी पालन कार्यक्रमलाई सुरु गर्ने तयारी गरिएकाले तालिम प्रभावकारी हुने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । गाउँपालिकाले तेलको आयतलाई रोक्न तोरी खेती कार्यक्रमको सुरुवात गरेको छ । तोरी खेतीले मौरी पालनलाई सहजता दिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

समान्तादेवी कृषि वन स्रोत केन्द्र दुवेकोलका अध्यक्ष घनश्याम निरौलाको अध्यक्षतामा भएको समापन कार्यक्रममा पालिका अध्यक्ष श्रेष्ठ, दुवेकोलका वडाध्यक्ष मनकुमार गुरुङ, निवर्तमान पालिका अध्यक्ष लिलानाथ निरौला दुवेकोलका वडा सदस्य तेजिन्द्र प्रसाद घिमिरे, गङ्गोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश कुमार राई लगायतको उपस्थिति रहेको थियो ।