
खोटाङ, पुस २७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा स्थानीय पर्यटक गाइड तालिम सुरु भएको छ । हलेसीमा आउने पर्यटकहरुलाई त्यसको महत्व बुझाउन स्थानीय पर्यटक गाइड राखिने गरी तालिम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
बुधबारबाट हलेसी मन्दिर व्यवस्थापन समितिको सभाहलमा सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन हुने छ । नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेज्मेण्ट (NATHM) सँगको सहकार्यमा नगरपालिकाले तालिमको आयोजना गरेको हो । प्रशिक्षकको रुपमा (NATHM) का विभागीय प्रमुख अजय कुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सह–प्राध्यापक तथा संकृत विद् डा.लोकनाथ दुलाल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किरात मुन्धुम अध्धेता भोगीराज राई रहनुभएको छ ।
गाइड सम्बन्धि तालिमका लागि नगरपालिकाले मंसिर ८ गते सूचना निकालेको थियो । जसमा ३३ जनाको आवेदन परेकोमा २ जनाको प्रक्रिया नपुगेको महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । ३१ ज्ना मध्ये तालिममा ७ महिला र १८ पुरुष गरी २५ जना सहभागी भएका छन् ।
तालिम सम्पन्न पश्चात उनिहरुलाई सुचिकृत गरेर राखिनेछ । गाइड सम्बन्धि कार्यविधि निर्माण गरेर तालिम लिएकाहरुलाई गाइडकोरुपमा परिचालन गर्ने नगरपालिकाले जनाएको छ । पर्यटकहरुलाई हलेसी र आसपासका धार्मिक तथा पर्यटकीय स्थलको महत्वको विषयमा विभिन्न ढंगले बर्णन गर्ने गरेको हुँदा अब आधिकारिक गाइडबाट आधिकारिक रुपमा पर्यटक तथा भक्तालुजनलाई यसको महत्व तथा वास्तविकता भनिने मेयर विमला राईले बताउनुभयो । ‘विभिन्न धारणाका साथ हलेसी, ताराखसे, तुवाचुङ लगायतका पर्यटकीय स्थललाई वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ । जसकारण त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषय विज्ञबाट तालिम प्रदान सुरु भएको छ । आगामि दिनमा आधिकारीक गाइड हलेसीमा हुनेछन् ।’ मेयर राईले भन्नुभयो ।
धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका बिभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगाएतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् ।
हलेसीमा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पुजापाठ गर्ने गर्छन । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरुले दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजा–आजा गर्ने गरेका छन । हिन्दु, बौद्ध र किरात तिनै वटा धर्महरुको आ–आफ्नै छुट्टै इतिहास रहेको जानकारहरु बताउछन् । सोही आधिकारिक जानकारी पर्यटकलाई दिन नगरपालिकाले गाइड राख्नको लागि बुधबारबाट तालिम प्रदान गर्न सुरु गरेको बताइएको छ । तालिमको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी (सिडियो) सुर्य प्रसाद सेडाइ लगायतको उपस्थिति रहेको थियो ।
