
खोटाङ, पुस २८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडामा पुगेर सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ । नागरिकको सहजताको लागि सोमबार ११ नम्बर वडा राजापानीमा सेवा दिएको नगरपालिकाले बिहिबार (आज) वडा नम्बर १ बाहुनीडाँडाका नागरिकलाई वडामै पुगेर सेवा प्रदान गरेको छ ।
नगरपालिका र वडाको संयुक्त पहलमा बिहीबार वडा कार्यालयमा एकिकृत सेवा प्रवाह कार्यक्रम राखेर भत्ता, योजान सम्झौता, स्वास्थ्य परीक्षण, परिचयपत्र जस्ता पाँच प्रकारको सेवा प्रदान गरिएको हो । कार्यक्रममा ७ वटा वडागत योजना सम्झौता, १६१ जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । अन्य समयमा लाभग्राहीहरु भत्ता लिन वडाबाट हलेसी पुग्नुपर्छ । आफ्नौ घर आँगनमा बिना झन्झट भत्ता थाप्न पाउँदा खुशी भएका छन् ।
कार्यक्रममा ५६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । ८ जनालाई अपाङगता परिचयपत्र वितरण गरिएको छ । कार्यक्रममा नगरपालिकाको ‘बालिका विकास बचत’ कार्यक्रम अन्तर्गत ६ जना बालिकाको खातामा जम्मा भई बैंकले दिएको भौचर आमाहरुलाई वतरण गरिएको छ ।
भूगोल टाढा भएकाले यहाँका नागरिकको सहजता तथा समय र श्रोतको बचतका लागि एकिकृत सेवा प्रवाह गरिएको मेयर बिमला राईले बताउनुभयो । आवश्यकता अनुसार अन्य वडाहरुमा एकिकृत सेवा प्रवाह गर्ने योजना रहेको उहाँको भनाई छ । यसअघि, राजापानीमा एकिकृत सेवा प्रवाह सेवा सञ्चालन गरिएको थियो ।
