Friday, April 17News That Matters

मेयर तीर्थराज भट्टराई ७ दिने भ्रमणका लागि जापान प्रस्थान


खोटाङ, माघ १ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई जापान भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । ७ दिने औपचारिक भ्रमणका लागि शनिबार राती मेयर भट्टराई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ड्राईगन एयरलाईन्सको उडानमार्फत जापान प्रस्थान गर्नुभएको भट्टराईको सचिवालयले जनाएको छ ।

भट्टराईलाई जापान भ्रमणको लागि मंसिर ९ गतेको मन्त्रीस्तरीय बैठकले निर्णय गरेको थियो । सोही अनुसार जापानको तोचिगि नगर भ्रमणमा भट्टराई प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा जापानको तोचिगि नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार निर्माणका लागि सौहार्दपूर्ण रुपमा सम्बन्ध स्थापित गरी भविष्यमा दुई नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने उद्धेश्य रहेको जनाइएको छ ।

मेयर भट्टराई जापानमा रहदा “मेयरसँग मेयर सम्बाद” कार्यक्रम लगायत विभिन्न शिक्षण संस्था तथा कृषि केन्द्रको स्थलगत अध्ययन र जापानस्थित नेपाली संघ संस्थासँग अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनुहुनेछ । यस्तै जापानले स्थापना गरेको नयाँ कृषि प्रविधि तथा फोहोर व्यवस्थापनका विषयमा विज्ञसँग अवलोकन र छलफल गर्ने कार्यक्रम रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विज्ञप्तिमा उल्लेख छ ।

भट्टराईको जापान भ्रमणका क्रममा आतेजाते तथा अन्य खर्च जापानस्थित विभिन्न संघ संस्थाहरुबाट व्यवस्थापन भएको पनि नगरपालिकाले जनाएको छ ।