Thursday, April 16News That Matters

खोटाङमा सौतेनी आमाको कुटाइबाट बालिका गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

सौतेनी आमाको कुटाइबाट गमभीर घाइते विनिता

खोटाङ, माघ १ । खोटाङमा सौतेनी आमाको कुटाइबाट एक बालिका गम्भीर घाइते भएकी छन् । आँखा र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी विनिता आचार्यलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यानरत १५ वर्षिया विनिता आचार्य आफ्नै सौतेनी आमाको कुटपिटबाट घाइते भएकी हुन् । पुस २९ गते दिउँसो कोठामा बसेर पढिरहेको अवस्थामा सौतेनी आमा चन्द्रकला रिजाल आचार्य कुटपिट गरेको स्थानीयको भनाइ छ । पढिरहेकी विनितालाई जुत्ताले आँखा, टाउको लगायत विभिन्न ठाउँमा कुटेको देखिएको स्थानीय तथा आफन्त हिराप्रसाद आचार्यले बताउनुभयो । कुटपिटबाट बालिकाको दाहिने आँखा बन्द भएको थियो ।
आँखा र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते विनितालाई जिल्ला अस्पतालले रेफर गरेपछि शनिबार काठमाडौं लगिएको छ । सुरुमा तिलगंगा आँखा अस्पताल लगिएको बिनितालाई टाउकाको सिटि स्क्यानका लागि आइतबार केएमसी लगिएको बताइएको छ ।

सौतेनी छोरीलाई निर्घात कुटपिट गरेपछि आफन्तले चन्द्रकला विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि जाहेरी दिएका थिए । मरणासन्न हुनेगरी कुटपिट गर्ने चन्द्रकलालाई अनुसन्धानका लागि घटना लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो ।

सौतेनी छोरी भन्दै चन्द्रकलाले पटक पटक विनितालाई कुटपिट गर्थिन । पुस २९ गते बुवा घरमा नभएको अवस्थामा बिनितामाथि चन्द्रकलाले निर्घात कुटपिट गरेको आफन्तहरुको भनाइ छ ।