Friday, April 17News That Matters

सरकारी सेवामा प्रवेश गरेको खुशीमा गाउँका अशक्तलाई न्यानो कपडा उपहार


खोटाङ, माघ ३ । प्राय मानिसहरु कुनै कुरामा सफलता प्राप्त गर्दा नजिकका ब्यक्तिहरुलाई पार्टी दिने गर्छन । सफलताका खुशीहरु भोज भतेरमा बाँडिन्छन् ।

खोटाङका हरी खड्काले भने आफ्नो सफलताको खुशीलाई समाजसेवामा लगाएका छन् । खड्काले सरकारी सेवामा प्रवेश गरेको खुशीमा गाउँका अशक्त, अपाङ्गता भएका र सहाराविहिन १५ जनालाई न्यानो कपडा प्रदान गरेका छन् । आफु सरकारी सेवामा प्रवेश गरेको खुशीमा उनिहरुलाई न्यानो कपडा एक थान ज्याकेट उपहार स्वरुप प्रदान गरेको उनले बताए ।
रावा बेसी गाउँपालिका–६ हौँचुरका हरी खड्काले केही दिन अघि मात्र वागमती प्रदेशको स्वास्थ्य सेवा सहायक चौथो तह अहेवमा नाम निकालेका छन् । सोही अवसरमा सोमबार वडासम्म आउन सक्नेलाई वडामा र आउन नसक्नेहरुलाई घरमै पुगेर ज्याकेट प्रदान गरेको खड्काले बताए ।

‘आफुले सफलता प्राप्त गर्दा भोज भतेरमा पैसा खर्च गर्ने चलन छ । तर मैले आफ्नो खुशी गाउँका अशक्त अपाङ्गता भएका ब्यत्ति र सहाराविहिनहरुसँग बाँडेको छु ।’ खड्काले भने ।