
खोटाङ, माघ १६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम चाडै सम्पन्न गर्न नगरपालिकाले खानेपानी मन्त्रालयका सचिवसँग छलफल गरेको छ । मेयर विमला राई, उपमेयर रमेशकुमार राउत लगायतको समुहले सोमबार (आज) हलेसी आउनुभएका मन्त्रालयका सचिव मनिराम गेलालसँग छलफल गरेको हो ।
छलफलका क्रममा बृहत पम्पिङ खानेपानी आयोजनाको काम चाडै सम्पन्न गर्न अनुरोध गरिएको मेयर राईले बताउनुभयो । सबैले आवश्यक सहयोग गरेर आयोजना सम्पन्न गरी हलेसी क्षेत्रका नागरिकको घरमा चाडै खानेपानी पुर्र्याउने छलफलको निष्कर्ष रहेको मेयर राईले बताउनुभयो । नगरपालिकाको अर्खौले, सल्ले र धितुङ तीन वडामा दोस्रो चरणको कामको लागि थप रु २० करोड बजेटसमेत व्यवस्था गर्ने सचिव गेलालले प्रतिवद्धता जनाउनु भएको मेयर राईले जानकारी दिनुभयो । ‘पटक पटक ताकेता गर्दा पनि आयोजनाको काम सम्पन्न हुन सकेको छैन । जसरी हुन्छ चाडै सम्पन्न गर्ने गरी हामी लागरिहेका छौँ । सोही विषयमा आज मन्त्रलायका सचिवसँग हामीले छलफल गरेका छौँ ।’ मेयर राईले भन्नुभयो ।
सुख्खाग्रत क्षेत्र घोषणा भएको हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्य राखिएको आयोजनाको काम लामो समय कछुवाको गतीमा रहेपछि नगरपालिका केही समय अघिदेखि ‘एक्सन’ मा देखिएको छ । मंसिर १६ गते नगरपालिकाको कार्यालयमा जनप्रतिनिधि, संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रतिनिधि, उपभोक्ता समिति लगायतको छलफल आयोजना गरेर निर्माण कम्पनीलाई नगरपालिकाले खोइ पानी भन्दै प्रश्न गरेको थियो । जवाफमा निर्माणको जिम्मा पाएका तिनै वटा निर्माण कम्पनीका प्रतिनिधिले दुई महिनामा पानी ल्याउने बताएका थिए ।
दुई महिनामा काम सम्पन्न गर्नेगरी उनिहरुले कागजमा हस्ताक्षरसमेत गरेका थिए । निर्माण कम्पनीले तोकेकोे समयमा काम सम्पन्न भने भएको छैन्, अर्थात निर्माण कम्पनीले दिएको समय सकिएको छ । यद्यपी नगरपालिकाको ताकेता पश्चात काम भने धमाधम भइरहेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङका प्रमुख हेराकाजी महर्जनले बताउनुभयो । ‘हामी फिल्डमा गएर हेरिरहका छौँ । अहिले निर्माण कम्पनीले काम धमाधम गरिरहेको देखिन्छ । पुरौ काम सम्पन्न हुन केही लाग्ने देखिन्छ ।’ महर्जनले भन्नुभयो ।
दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्का दिवा–महादेव खिम्तीको छ । काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी र भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनको हो ।
२०७६ साल पुस १७ गतेसम्ममा ३१ करोड ७५ लाख ९६ हजार (भ्याट वाहेक)मा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी दिवा–महादेव खिम्तीले २०७४ साल असार २१ गते बृहत पम्पिङ खानेपानी आयोजनाको मेनलाईनको ठेक्का सम्झौता गरेको थियो । यस्तै, २०७७ साल असार ३० गतेसम्ममा सक्ने शर्तमा २०७५ साल असार ३१ गते वितरणलाइनतर्फको कामको सम्झौता गरिएको थियो । रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजार र लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा वितरणलाईनको ठेक्का लिएको हो ।
