Friday, April 17News That Matters

हलेसी मन्दिरमा चोरी, सिसिटिभी फुटेजका आधारमा समातिए चोर

खोटाङ, माघ १६ । त्रि–धार्मिक स्थल हलेसी मन्दिरमा चोरी भएको छ । मन्दिरको पार्वतीथानमा रहेको दानपेटिबाट चोरी गरेर भाग्दै गर्दा एक ब्यक्तिलाई प्रहरीले पक्राउसमेतर गरेको छ ।

पक्राउ पर्नेमा इलामको सातखरा नगरपालिका–८ का ३६ वर्षीय रुपेश राई रहेका छन् । आइतबार राती करीब ८ः१५ बजेको समयमा दानपेटिका फुटाएर राईले चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ । सोही फुटेजको आधारमा भाग्दै गरेका राईलाई च्यास्मिटार प्रहरी चौकीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनुकुमार कार्कीले जानकारी दिनुभयो ।

पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको सूचना अधिकारी कार्कीले बताउनुभयो । दिउँसो सोही मन्दिर वरीपरी घुमिरहेका राईले कोही नभएको रातको समय पारेर रडको प्रयोग गरी दानबाकस फुटाएर चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले इलाका प्रहरी कार्यालय हलेसीमा खबर गरेसँगै सिसिटिभी फुटेजको आधारमा सुमोमा भाग्दै गरेका उनलाई च्यास्मीटारबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।

हलेसी मन्दिर परिसरमा अपराधिक क्रियाकलाप रोक्न नगरपालिकाले मन्दिर परिसरमा सिसिक्यामेरा जडान गरेको थियो । सुरुमा जोडिएको क्यामेरा चट्याङले बिगारेपछि पुनः केही समय अघि क्यामेरा जडान गरिएको छ । मन्दिर परिसरमा जडान गरिएको क्यामेरा प्रभावकारी देखिएको छ ।