
खोटाङ, माघ १७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघरको समस्या भएका आमाहरुको घरमै पुगेर उपचार गरिदिएको छ । पाठेघरको रोग पहिचान र उपचारका लागि माघ १ देखि ९ गतेसम्म नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
नगरपालिका भरीका ३२ जनाको पाठेघर खसेका महिलाहरुको शल्यक्रिया गर्नुपर्ने देखिएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँहरुको नगरपालिकाले आफ्नै खर्चमा निःशुल्क शल्याक्रिया गरिदिने भएको छ ।
नगरपालिकाले नौ दिन घरघरमापुगेर पाठेघरको परीक्षण तथा उपचार गर्दा २२५ जनाले सेवा लिएका छन् । जसमध्ये ३२ जनाको जटिल अवस्थामा पुगेकाले शल्यक्रियामार्फत उपचार गर्नुपर्ने देखिएको हो । तत्कालै १०६ जना महिलाको पाठेघरमा रिङ प्रेसरी राखिएको छ । १०४ जना महिलाको पिआइडी(पाठेघर सम्बन्धी संक्रामक रोगको उपचार) गरिएको छ । आवश्यकता अनुसार औषधि वितरण र परामर्श दिइएको संयोजक घिमिरेले बताउनुभयो ।
शल्यक्रिया गर्नु पर्ने अवस्थाका महिलासँग नियमित सम्पर्कमा रहेर १ फागुनमा बनेपास्थित एक अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था नगरपालिकाले गर्ने मेयर विमला राईले बताउनुभयो । मानव बस्ने पहिलो घर पाठेघर भएकाले त्यसलाई जोगाउन नगरपालिका लागि परेको उहाँको भनाइ छ । अघिल्लो वर्षमा नगरपालिकाले पाठेघरको उपचार सम्बन्धि शिविर आयोजना गर्दा धेरै महिलाहरु लजाएर शिविरमा आएनन् । त्यसैले यो वर्ष हरेक घरमै स्वास्थ्यकर्मी खटाइएको मेयर राईले बताउनुभयो ।
