
खोटाङ, माघ १८ । देशमा एकात्मक ब्यवस्थाको समाप्ति पश्चात संघीय शासन पद्धती अनुसार गाउँ गाउँमा सिंहदरबार पु¥याउने प्रयत्न गरिएको छ । तर अझै पनि कतिपय स–साना काम लिएर नागरिकहरु जिल्ला सदरमुकाम नै धाउनु पर्ने बाध्यता छ । यस को अर्थ संघीयता कार्यन्वयनको पाटो मै छ भन्न सकिन्छ ।
संघीयताको खास अर्थ शक्ति विकेन्द्रीकरण नै हो । संघीयता कार्यन्वयनको लागि शासनको शक्ति मात्र हैन विकेन्द्रीकरण यहाँ हरेक शक्तिहरुको हुन आवश्यक छ । सोही अनुसार नेकपा एमाले खोटाङले एउटा नयाँ कामको सुरुवात गरेको छ । जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको जिल्ला कमिटिको बैठक अब एमालेले गाउँ गाउँमा गएर बस्ने छ । जसको सुरुवात जिल्ला कमिटिको सातौँ बैठक बराहपोखरीमा राखेर गरेको छ । यसरी नै आगामि अन्य जिल्ला कमिटिको बैठक पनि जिल्लाका विभिन्न गाउँमा गएर गर्ने एमाले खोटाङका अध्यक्ष राम प्रसाद दंगालले बताउनुभयो ।
‘राजनीतिक दल शहर बजार केन्द्रीत भयो, अब जनताको समस्यामा केन्द्रीत , जनताको घर आगनमा केन्द्रीत हुन आवश्यक ठानेर हामीले गाउँमा गएर जिल्ला कमिटिको बैठक गर्न थालेका छौँ ।’ अध्यक्ष दंगालले भन्नुभयो । चुनावको बेला मात्र नभएर नेतालाई अरु बेला पनि जनताले गाउँमा देख्न पाउनु पर्छ भन्ने मागलाई एमालेले पुरा गरेको उहाँको भनाइ छ ।
सदरमुकाममा बैठक बसेर गाउँको विकासको समस्या साथै पार्टीको समस्या नदेखिने भएकाले गाउँमै गएर सबै कुरा बुझ्ने एमालेले निर्णय गरेको अध्यक्ष दंगालले बताउनुभयो । दंगालले भन्नुभयो, ‘सबै कुरा शहरमा केन्द्रीत हुने हैन अब गाउँ गाउँमा पुग्नु पर्छ । संघीयताको कार्यन्वयन भनेको यो पनि एउटा पाटो हो । पार्टीकै निर्णय अनुसार एमालेले खोटाङमा जितेका पालिकाहरुमा वडा वडामा पुगेर सेवा दिन थालेको छ ।’ दिप्रङ चुइचुम्मा गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरिसकेको छ भने सामाजिक सुरक्षा भत्ता पनि वडामै पुगेर वितरण गरिरहेको उहाँको भनाइ छ ।
बराहपोखरीमा सम्पन्न एमालेको सातौ जिल्ला कमिटि बैठकले जिल्लाका ठूला र महत्व राख्ने सडक तथा पुल निर्माणमा भएको ढिलासुस्तीको बिरोध गर्दै यथाशिघ्र निर्माणको माग गर्ने निर्णयसमेत गरेको छ । नेपाल सरकारले सय गन्तव्यस्थलको सूचीमा समावेश गरेको पर्यटकीय स्थल बराहपोखरीको समृद्धिका लागि नेतृत्व गर्न प्रतिवद्धता जाहेर गरेको छ । सुन्दर पर्यटकीय बराह ताललाई आकर्षक पर्यटकीय गन्तत्वको रुपमा विकास गर्न पार्टीकातर्फबाट पहल गर्ने एमालेले निर्णय गरेको एमाले खोटाङका अध्यक्ष दंगालले बताउनुभयो ।
यस्तै, गाईघाट–दिक्तेल सडक, मध्यपहाडी लोकमार्ग, दिक्तेल–आहाले–रेग्मीटार सडक, दिक्तेल–खोटाङबजार सडक, साप्सु खोला–पान्धारे सडक, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक, धाप्लाङघाट, बंशिलाघाट, मुलघाट, घोपाटार, लिदिङ खोला, सिलौरीघाट, कसावा खोला पुल लगायतका संरचना चाँडोभन्दा चाँडो निर्माण गर्न एमालले माग गरेको छ । जिल्लाका विकास निर्माणमा भएको ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचार विरुद्ध योजनावद्ध आन्दोलनमा उत्रने निर्णयसमेत गरिएको अध्यक्ष दंगालको भनाइ छ ।
