
खोटाङ, माघ २० । खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यालयमा सुर्तिजन्य पदार्थ सेवनको न्युनिकरण सम्बन्धि विद्यालयमा सचेतना कार्यक्रम गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सुङदेलको सुर्य माध्यमिक बिद्यालयमा सुर्तिजन्य पदार्थको सेवनलाई न्युनिकरण गर्न सचेतना कार्यक्रम गरेको हो ।
युवा, महिला तथा बालबालिका अवस्थाका नागरिकहरुलाई सुर्तिजन्य पदार्थको प्रयोग गर्नबाट बचाउने उद्देश्यले सचेतना कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा वडा सदस्यहरु, माविका प्रधानाध्यापक, शिक्षक, विधार्थी तथा समाजसेवी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रमुख÷प्रतिनिधि, बाल क्लवका प्रतिनिधि लगायत गरी सय जनाको सहभागिता थियो ।
सचेतना कार्यक्रमलाई स्वास्थ्य संयोजक शिव कुमार राई, हेल्थ असिस्टेन्ट चुडामणी जैसी र अहेव रामप्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो । सुर्तिजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोका क्यान्सरबाट बच्न सकिन्छ । सुर्तिजन्य पदार्थ सेवन गर्न छोडेमा ह्रदयघात, क्यान्सर, मधुमेह, फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या तथा जोखिम कम हुने गर्दछ ।
मुख, दाँत, गिजा स्वस्थ्य रहने, उमेर नपुग्दै छाला चाउरी पर्ने संम्भावना कम हुने, आँखको दृष्टि कमजोर हुनबाट जोगिने, श्रवण शक्ति कमजोर हुनबाट जोगिने, गर्भावस्थामा हुने जोखिम कम हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
