
खोटाङ, माघ २१ । ठेक्का तोड्न सिफारिस गरेपछि चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्डको काम बल्ल सुरु गरिएको छ । खोटाङस्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रे योजनाको काम लामो समय अलपत्र पर्यो ।
पटक पटक म्याद थप्दा पनि काम पुरा गर्ने छाँटकाट नदेखिएपछि मध्य पहाडी लोकमार्ग कार्यालय धुलिखेलले ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरेको छ । जब ठेक्का तोड्न सिफारिस गरियो तब निर्माण कम्पनीले काम गर्न सुरु गरेको छ ।
भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोश्रो म्याद २०७८ असार १३ र तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते मै गुज्रिसकेको छ । रु ३२ करोडमा कालोपत्रेको जिम्मा लिएका निर्माण कम्पनीले ३/३ पटक म्याद गुज्रिदासम्म कानमा तेल हालेर बसेको थिए । अहिले ठेक्का तोड्न सिफारिस भएपछि बल्ल काममा खटेका छन् ।
विभिन्न समस्या भएको बहाना गर्दै अब बैशाख मसान्तसम्ममा काम सम्पन्न गरेर सडक हस्तान्त्रण गर्ने निर्माण कम्पनीले जनाएको छ । अहिले साइटको इन्चार्जको जिम्मा पाउनुभएका विमल अधिकारीले कुनै पनि हालतमा बैशाख मसान्तसम्ममा काम सक्ने बताउनुभएको छ । उहाँका अनुसार अहिले मेसिनरी पर्खाल र नाली निर्माण, ढल कटानको काम धमाधम भइरहेको छ । क्रसरमार्फत कालोपत्रका लागि आवश्यक निर्माण सामग्री (रोडागिटी) तयार गर्नुका साथै सब–बेस हाल्ने कामसमेत भइरहेको उहाँको भनाइ छ ।
कालोपत्रेको ठेक्का सम्झौता भएको आठ वर्षसम्म पनि सडकको काम पुरा नहँुदा स्थानीय र यात्रुले बिशेषगरी बर्खाको समयमा सास्ती खेप्नु परेको छ । भोजपुर जिल्लाबाट राजधानी काठमाडौंसमेत सोही बाटो प्रयोग भएर सवारी साधन आवतजावत गर्ने गरेका छन् । बर्खाको समयमा सवारी साधन फसेर सोही ठाउँमा बाससमेत बस्नु परेको यात्रुहरुको तीतो यथार्थ छ । सवारी साधन फस्ने समस्याले अस्पताल लगेका बिरामीहरुको बाटैमा ज्यान जान सक्ने अवस्था रहेको स्थानीय मिना कुमारी राईले बताउनुभयो । गत बर्खाको समयमा उहाँ आफैले पनि यो समस्या भोगेको सुनाउनु हुन्छ ।
मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तरगत खोटाङ र भोजपुर जोड्ने उक्त सडकको सेखुवासम्म केहि वर्ष अघिनै कालोपत्रे भइसकेको छ । तर सेखुवा– चखेवाभञ्ज्याङ १० किलो मिटर बाटो अलपत्र हुँदा धेरै पटक गाली खानु परेको जनप्रतिनिधिको भनाइ छ । तत्काल हेर्दा काम गर्ने छाँटकाट देखाएपनि अझै कामदार थपेर चाडो काम सक्नु पर्ने साकेला गाउँपालिका–१ बाझेच्याडाँडाका वडाध्यक्ष हेमन राई बताउनुहुन्छ ।
सडकमा आवतजावत गर्न समस्या भएपछि ठेक्का तोड्न अनुरोध गर्दै ३०३ जना स्थानीयले हस्ताक्षर गरेर मागमसेत गरेका थिए । निर्माण कम्पनीले यस अघि करिब ३४ प्रतिशत मात्र काम गरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले जनाएको थियो । तर अहिले निर्माण कम्पनीले भने ६० प्रतिशत काम सम्पन्न भएको दावी गरेको छ ।
