Friday, April 17News That Matters

बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेको वडा

वडाध्यक्ष हेमन राई र वडा सचिव नमी राई

खोटाङ, माघ २१ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेका छन् । उक्त वडाको वडाध्यक्ष हेमन राई र वडा सचिव नमी राई दाजु बहिनी हुन् ।

बहिनी नमी यस अघि भोजपुरको टेम्केमैयुङ गाउँपालिका कार्यरत हुँदा यता वर्तमान वडाध्यक्ष दाई हेमन वडा सदस्य थिए । वि.स. २०७४ सालमा भएको स्थानीय तहको चुनावमा वडा सदस्य जितेका राई ०७९ मा भएको स्थानीय तहको दोस्रो चुनावमा वडाध्यक्ष भए । केही समय पछि बहिनी नमी राईको सरुवा साकेला गाउँपालिकामा भयो । बाँझेच्यानडाँडा अर्थात दाई हेमन वडाध्यक्ष भएकै वडाको सचिवको जिम्मा नमीको काँधमा आयो । अहिले दाई वडाध्यक्ष र बहिनी वडा सचिव भएर वडा कार्यालय हाँकिरहेका छन् ।

३ छोरा र ४ छोरी रहेको परिवारमा वडाध्यक्ष हेमन जेठा छोरा हुन् । वडा सचिवकोरुपमा कार्यरत नमी माइली छोरी हुन् ।

ठुला छैनन् सपना तर महत्वपुर्ण छन्

सदस्यबाट वडाध्यक्षमा अपग्रेड भएका राई ठुला सपना नरहेको बताउछन् । तर जती पनि योजना छन् ती योजना वडाका नागरिकको लागि महत्वपुर्ण रहेको राईको भनाइ छ । उनको कार्यकाल भित्र वडामा भएका सडकबाटोहरुमा सधै सवारी साधन सञ्चालन हुनेछन् । वडाको भूगोल ठुलो भएकाले आवश्यकता अनुसार स्वास्थ्य चौकी विस्तार हुनेछ । अहिले भाडामा रहेको वडाको आफ्नै भवन हुनेछ । आगामि पाँच वर्षमा आवश्यकता अनुसार विद्यालयमा भवन निर्माण, सिँचाई कुलोहरुको निर्माण हुने कुरा राईले सुनाए ।

नागरिकलाई सास्ती नदिने

वडाध्यक्ष राई भन्छन् वडाध्यक्षको तेत्रो धेरै भूमिका नै के हुन्छर्, थोरै बजेट हुन्छ धेरै ठाउँमा टाल्नु पर्ने हुन्छ । नागरिकको सबै भन्दा नजिकको उनिहरुको दैनिकिसँग जोडिएको सरकार हो हामी, त्यसैले नागरिकलाई वडाले दिने सेवामा कुनै कञ्जुसाइ नगर्ने पहिलो प्राथमिकताको विषय रहेको राई बताउछन् ।

वडाध्यक्ष राई भन्छन्, ‘हिजोका दिनमा पनि म सेवाग्राही थिएँ र भोली जनप्रतिनिधि नभएको दिन पनि सेवाग्राही हुनेछु । सेवाग्राहीले के कस्ता सास्ती खेप्नु पर्छ त्यो मलाई राम्रोसँग थाहाँ छ । त्यसैले वडामा आएका सेवाग्राहीलाई कुनै खालको सास्ती मेरो कार्यकालमा हुनेछैन ।’

विवादमा आउन नचाहाने वडाध्यक्ष

जनप्रतिनिधिले सबै भन्दा सोँच्नु पर्ने मुख्य कुरा चै विवादमा आउने काम गर्न नहुने वडाध्यक्ष हेमन राईको बुझाइ छ । जतिनै धेरै काम गरे पनि विकास गरे पनि कुनै कुरामा विवादमा परियो भने त्यी सबै छाँयामा पर्ने राईको भनाइ छ ।

वडाध्यक्ष राई सुनाउछन्, ‘राजनीति गर्ने भनेको समाज सेवा गर्नु हो मेरो विचारमा, त्यसैले निस्वार्थ समाज सेवामा लागिएन, विवादमा आउने काम गरियो भने नागरिकले हेर्ने दृष्टिकोण फरक हुन्छ । पैसा कमाउन त व्यापार गर्ने हो जागिर खाने हो, राजनीति भनेको समाजसेवा गर्ने हो । त्यसैले कुनै विवादमा नपरी, अनियमिततामा नजोड्डि निस्वार्थ राजनीति गर्ने मेरो अठोट छ ।’