Sunday, April 19News That Matters

दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती


खोटाङ, माघ २३ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती भएको छ । करीब एक घण्टाको दुरीमा पालिका केन्द्र र बैंक रहदा सास्ती खेप्नु परेको नागरिकले गुनासो गरेका छन् ।

सामान्य कागजपत्र नमिलेर बैंक र पालिका कार्यालय २/३ पटकसम्म ओहोरदोहोर गर्दा पुरै एक दिन लाग्ने गरेको नागरिकहरुले गुनासो गरेका हुन् । गाउँपालिकाको केन्द्र वडा नम्बर ५ स्थित याङसोलाटारमा रहेको छ । पालिका भित्र रहेको एक मात्र बैंक सानिमा बैंकको कार्यालय वडा नम्बर २ स्थित ओख्रेमा छ । पैदल हिडेर पालिका कार्यालयबाट बैंकसम्म पुग्न करीब एक घण्टा लाग्छ । सवारी साधन हुनेलाई धेरै समस्या नभएपनि नहुनेले सास्ती खेप्नु परेको डाँडागाउँका स्थानीय रोसन रोक्काले बताउनुभयो ।

‘खास भन्ने हो भने यो उपभोक्ता समितिमा बस्नेहरुलाई धेरै समस्या हुँदो रहेछ । वडाबाट सिफारिस लिएर पालिका आयो अनि बैंकमा गयो । कहिलेकाहीँ कागजपत्र नमिल्ने, छाप नमिल्ने हुन्छ अनि फेरी पालिका आएर बैंक गयो । यसरी त हाम्रो एक दिनको समय पुरै जान्छ ।’ याम्खाका सइन्द्र कुमार राईले भन्नुभयो । बैंक र पालिका टाढा हुँदा एउटा योजनाको खाता खोल्न एक हप्ता दुःख पाएको तीतो याथार्थ छ छोरम्बुका दिपक राईसँग । ‘पालिकाले वडामै आएर योजना सम्झौता गर्दियो हामीलाई केही सहज भयो । खाता खोल्न बैंक जादा कागजपत्र नमिलेको भन्दै बैंकले पालिका केन्द्र फर्काइदियो । पालिका आएर पुनः बैंक गएपनि समस्या देखाउदै बैंकले एक हप्ता अल्झाएर बल्ल खाता खोलिदियो ।’ राईले भन्नुभयो । पालिका कार्यालय र बैंक नजिक भएको भए समस्याको समाधान चाडै हुने राईको दुखेसो छ ।

हाल पालिकाको काम सबै कम्प्युटरबाट हुनेभएकाले कहिलेकाहीँ सामान्य त्रुटि हुने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईले बताउनुभयो । जुन त्रुटिले बैंकमा काम नमिलेर सेवाग्राहीहरु पुनः पालिका कार्यालयमा फिर्ता आउने गरेका छन् । जसले गर्दा पालिकाको कार्यालय र बैंक नजिकै भए नागरिकलाई सास्ती नहुने उहाँको भनाइ छ ।

एक पालिकामा एक बैंक अनिवार्य नीति अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सानिमा बैंकको भागमा परेपछि वि.स. २०७५ साल साउनमा ओख्रोमा बैंकको शाखा स्थापना भएको हो । उक्त समयमा गाउँपालिकासँग समन्वय गरेरै ओर्खेमा बैंकको कार्यालय राखिएकाले तत्काल बैंक सार्ने कुनै कुरा नभएको सानिमा बैंक दिप्रुङ शाखाका प्रमुख चेवन कुमार श्रेष्ठले बताउनुभयो ।

सुरुमा स्थापना गरेर अहिले कार्यालयहरु सार्दा विवाद हुने भएकाले बैंक सार्ने छलफल नभएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको भनाइ छ । तर पालिका केन्द्र र बैंक टाढा हुँदा समस्या भने देखिएको उहाँले बताउनुभयो । यता नागरिकले भने उक्त बैंकको कार्यालय ओर्खेमै रहेपनि अन्य कुनै बैंक पालिका कार्यालय नजिक ल्याउन पहल गरिनु पर्ने माग गरेका छन् । स्थानीय सरकारले नागरिकलाई धेरै कुरामा सहजता दिएपनि बैंक र पालिका केन्द्र टाढा हुँदा सास्ती खेप्नु परेको नागरिको गुनासो छ ।