Friday, April 17News That Matters

खोटाङमा चरनमा छाडिएका हल गोरुको अज्ञात ब्यक्तिले खुट्टा काटिदिए

फाइल तस्विर

खोटाङ, माघ २३ । खोटाङमा चरनमा छाडिएको हल गोरुको खुट्टा काटिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित खोटाङ र उदयपुरको सिमनामा पर्ने फोक्सीन्टारको पक्की पुल नजिक चरनमा छाडिएका गोरुको अज्ञात ब्यक्तिले खुट्टा काटिदिएका हुन् ।

हिउँदको समयमा उक्त स्थानका मानिसहरुले प्राय गाईबस्तु चरनका लागि खुला छाड्ने गरेका छन् । आइतबार चरनका लागि छाडिएका सुर्य माझीको हल गोरुको पछाडिको खुट्टाको विभिन्न भागमा काटिएको उदयपुर घर भइ हाल सोही ठाउँ बस्दै आउनुभएका कर्णशेर राईले जानकारी दिनुभयो । राईका अनुसार खुकुरीको प्रयोग गरेर गोरुको खुट्टामा काटिएको छ । गोरु खुट्टा काटेर हिड्न नसक्ने अवस्थामा भेटिएको उहाँको भनाइ छ ।

गोरुको खुट्टा काटिएको जानकारी आएपछि घटना स्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो । स्थानीयले लगाएको तरकारी बाली खाएपछि गोरुको खुट्टा काटिएको हुन सक्ने प्रहरीको अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । अनुसन्धानकै क्रममा तरकारी लगाउनेहरु र गोरु धनीलाई मंगलबार छलफलका लागि बोलाइएको डिएसपी मुकारुङले बताउनुभयो ।