
खोटाङ, फागुन १६ । खोटाङको केपिलासगढी गाउँपालिका पूर्वी तराईसँग छोटो दुरीको सडक सञ्जालले जोडिएको छ । अब केपिलासगढी गाउँपालिकाको वडा नम्बर १ फेदीबाट भोजपुरहुँदै पूर्वी तराई जान सकिने भएको हो । गाउँपालिकाले निर्माण गरेको छोटो दुरीको ‘फेदी–धोध्रे–भोजपुर सडक खण्ड सोमबार गाउँपालिकाका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।
अघिल्लो स्थानीय सरकारले सुरु गरेको काम वर्तमान सरकारले पुरा गरेर सडक उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ । फेदीबाट लामो चउरसम्म र भोजपुरतर्फबाट धोध्रेको भालु खोलासम्म खनेर छोडिएको सडकलाई चालु आर्थीक वर्षको साँढे दशलाख बजेटबाट डेढ किलोमिटर मिटर खनेपछि सडक सञ्जालले पूर्णतापाएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताउनुभयो ।
फेदीबाट भोजपुरसम्म सडक सञ्जाल सुरु भएपछि केपिलासगढी गाउँपालिका बासिन्दाहरु पूर्वी तराई झर्न दिक्तेल–हलेसी सडक भन्दा यो सडक धेरै छोटो हुने गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । यस सडक प्रयोग गरेर भोजपुर मात्रै झण्डै दुई घण्टामा पुग्न सकिन्छ ।
छोटो दुरीको सडक सञ्चालन भएसँगै स्थानीयहरु हर्षित भएका छन् । यस सडकले अन्तर जिल्लाको व्यापार, व्यवसायमा टेवापुग्ने अपेक्षा गरिएको छ ।
