Friday, April 17News That Matters

ज्येष्ठ नागरिक र पूर्व स्वयंसेविकलाई सम्मान, दीर्घरोगिलाई नगद, विपन्नलाई मिटर बक्स प्रदान

कार्यक्रम प्रश्चातको सामुहिक तस्विर

खोटाङ, फागुन १७ । खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डेका ज्येष्ठ नागरिक र पूर्व स्वयंसेविकालाई सम्मान गरिएको छ । बुधबार वडा कार्यालयले एक कार्यक्रम आयोजना गरेर ८० वर्ष माथिका वडाका ३६ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको स्वस्थताका लागि हर्लिक्स पनि प्रदान गरिएको उहाँको भनाइ छ ।

यस्तै, २ पूर्व स्वयंसेविका सावित्रादेवी निरौला र अदिरानी राईलाई मायाको चिनो करुवासँगै दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको वडाध्यक्ष राईले बताउनुभयो । सोही कार्यक्रममा वडाका दीर्घरोगिहरुलाई नगद पनि सहयोग गरिएको छ । सधै औषधि खरिद गर्न बाध्य डम्बरकुमारी विश्वकर्मा, दिलबहादुर विश्वकर्मा र धनकुमारी सार्कीलाई वडाको तर्फबाट नगद ५/५ हजार सहयोग प्रदान गरिएको उहाँको भनाइ छ ।

यस्तै, आफैले खरिद गरेर प्रयोग गर्न नसक्ने अवस्थाका ललित विश्वकर्मा र चक्रबहादुर दमाईको परिवारलाई विद्युतको मिटर बक्स प्रदान गरिएको वडाध्यक्ष राईले बताउनुभयो । वडाले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेश राई, सबै राजनीतिक दलका वडाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको वडा सचिव तेज कुमार राउतले बताउनुभयो ।