
खोटाङ, फागुन १९ । नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि खोटाङका सातै वटा क्याम्पसमा संगठन दर्ता गरेको छ । चैत ५ गते हुने (स्ववियु) निर्वाचनमा भाग लिन अनेरास्ववियुले जिल्लाका सबै क्याम्पसहरुमा संगठन दर्ता गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार शुक्रबार सबै क्याम्पसमा पुगेर संगठन दर्ता गरिएको अनेरास्ववियु खोटाङका जिल्ला कमिटि सदस्य कैलाश खड्काले बताउनुभयो । दिक्तेल बहुमुखी क्याम्पस र हलेसी क्याम्पसमा संगठनका जिल्ला सचिव विष्णु उपरकोटीको नेतृत्वमा, साकेला क्याम्पसमा उपाध्यक्ष यम खड्काको नेतृत्वमा, चिसापानी र सिम्पानी क्याम्पसमा सह–सचिव सुरेश प्रदानको नेतृत्वमा, खोटाङ क्याम्पसमा प्रदेश सदस्य संकर खनालको नेतृत्वमा र रावा क्याम्पसमा जिल्ला सदस्य युवराज कट्वालको नेतृत्वमा संगठन दर्ता गरिएको खड्काको भनाइ छ ।
