Friday, April 17News That Matters

संयोजक र सह–संयोजक तोकेर स्ववियु निर्वाचनमा लाग्यो अनेरास्ववियु (क्रान्तीकारी) खोटाङ

दिक्तेल बहुमुखी क्याम्पसका निमित्त प्रमुख राईलाई विज्ञप्ति हस्तान्त्रण गर्दै संयोजक खम्बु र सहसंयोक चाम्लिङ

खोटाङ, फागुन १९ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले (स्ववियु) निर्वाचनका लागि संयोजकमा रविन खम्बुलाई तोकेको छ । पार्टीका जिल्ला संयोजक दिपक पाण्डे (आकाश), सचिव जीवन राई (संगीन), प्रदेश सदस्य टंक थापा लगायत विद्यार्थी संगठनमा आबद्धहरुको उपस्थितिमा बसेको बैठकले खम्बुलाई संयोजक तोकेको हो ।

निर्वाचनलाई मर्यादित तथा व्यवस्थित गर्नका लागि अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले निर्माण गरेको (स्ववियु) निर्वाचन तथा परिचालन समितिको सह–संयोजकमा डार्बिन चाम्लीङलाई तोकिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुँदैछ ।

शुक्रबार क्याम्पसमा संगठन दर्ता गर्नु पर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिका रहे पनि खोटाङको कुनै पनि क्याम्पसले निर्वाचन प्रक्रिया नै अगाडि नबढाएको भन्दै अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाइ तोकिएकै मितिमा निर्वाचन गराउन माग गर्दै दिक्तेल बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख कृष्ण कुमार राईलाई संगठनले विज्ञप्तिसमेत हस्तान्त्रण गरेको संयोजक खम्बुले बताउनुभयो ।

विद्यार्थीको अधिकारलाई व्यवस्थित गर्ने निकायको निर्वाचन लामो समय हुन नसक्दा सिंगो विद्यार्थी आन्दोलनको अस्थित्वमाथी नै संकट उत्पन्न भएको अनेरास्ववियु (क्रान्तीकारी)को ठहर छ । आसन्न (स्ववियु) निर्वाचनमा जिल्लाका क्रियाशिल विद्यार्थी संगठनहरु गम्भिर तथा जिम्मेवारी हुन अनेरास्ववियु (क्रान्तीकारी)ले विज्ञप्तिमार्फत अनुरोधसमेत गरेको छ ।