Friday, April 17News That Matters

देशभरका चाम्लिङ राईहरुको खोटाङमा भेला, मेयर भट्टराई सम्मानित


खोटाङ, फागुन २२ । देशभरका चाम्लिङ राईहरु खोटाङमा भेला भएका छन् । चाम्लिङ राई भाषा सम्बन्धि कार्ययोजना निर्माणका लागि पुर्वको ईलाम, झापा, धनकुटा, सुनसरी, उदयपुरदेखि काठ्माडौंसम्मका १२ जिल्लाका चाम्लिङ राई दिक्तेलमा भेला भएका हुन् ।

किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्यसमिति खोटाङको व्यवस्थापन एबं किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमितिको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मान तथा भाषिक कार्ययोजना निर्माण भेलामा पुर्व–पश्चिमका चाम्लिङ राई एउटै थलोमा भेला भएका हुन् । चाम्लिङ राई समुदायको बाहुल्यता रहेको ठाउँका विद्यालयमा चाम्लिङ भाषाको पठन–पाठनलाई व्यापक बनाउने र चाम्लिङ भाषी समुदायको बाहुल्यता रहेको स्थानीय तहमा चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने कार्ययोजना निर्माणका लागि तीन दिने भेला आयोजना गरिएको खाम्बातिमका खाम्वातिमका महासचिव जितकुमार राईले बताउनुभयो ।

शुभम् फाउण्डेसन, सोल्माको सभाहलमा आयोजना गरिएको भेलामा किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राई, डा. तारामणी राई, मुन्धुम अध्येता भोगीराज चाम्लिङ, खाम्वातिमका केन्द्रीय अध्यक्ष युवराज राई र उपाध्यक्ष नरबहादुर राईले चाम्लिङ भाषा, धर्म, संस्कार–संस्कृतिका विषयमा कार्यपत्र एबं सांगठनिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यक्रम छ । भेलाको पहिलो दिन डा. राईले ‘चाम्लिङ भाषाको अवस्था र चाम्लिङ भाषाको संमृद्धिको मार्गचित्र’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको छ । बाँकी कार्यपत्र तथा प्रतिबेदन सोमबार प्रस्तुत हुने छन् ।

सम्मान तथा भाषिक कार्ययोजना निर्माण भेला समापनपछि अतिथिलाई नेर्पाको साकेला थान, मझुवागढी र तुवाचुङमा घुमफिर गराइने खाम्बातिमकका खोटेहाङ गाउँपालिका समिति अध्यक्ष इन्द्र नारथुंगेले बताउनुभयो ।

यसैबिच, किरात समुदायको संस्कार संस्कृतिसँग सम्वन्धित वाबु (चिन्डो)लाई जापान पु¥याएर प्रचार–प्रसार गरेकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सम्मानित हुनुभएको छ । गत माघमा भएको जापान भ्रमणका क्रममा जापानी मेयरलाई उपहार स्वरुप वाबु (चिन्डो) हस्तान्तरण गरेर फर्किनुभएका मेयर भट्टराईलाई किरात राई चाम्लिङ खाम्बातिम संघीय कार्यसमिति, काठ्माडौंले सम्मान गरेको हो ।