
खोटाङ, फागुन २२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले फागुन २४ गतेका दिन मनाइने १३३ औं अन्तर्राष्ट्रिय महिला दिवस भब्यताका साथ मनाउने भएको छ । देशका दुई चर्चित महिला नेता, सामाजिक अभियान्ता प्रेरक वक्तासहितको उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्न पुर्वशहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा र प्रेरक वक्ता सुमी मानव हलेसी आउने नगरपालिकाका मेयर बिमला राईले जानकारी दिनुभयो । राईले भन्नुभयो, ‘उहाँहरु नेपालको उच्च ठाउँमा पुग्नु भएको छ । हरेक म्हिलाहरुलाई त्यो ठाउँमा पुग्ने मन हुन्छ, अझ भनौँ उहाँहरुको कुरा सुनेर सबैलाई प्रेरणा मिलोस् की त्यो ठाउँमा पुग्ने सबैको इच्छा चाहना बनोस् । त्यसैले उहाँहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको हो ।’ अहिले हरेक व्यक्ति, परिवार र समाजमा निराशापन छाइरहेकाले प्रेरक वक्ता पनि ल्याइएको उहाँको भनाइ छ ।
यस्तै, देशका उच्च स्थानका ब्यक्तिहरु आएर त्रि–धार्मिक स्थल तपोभूमी हलेसीको प्रवद्र्धन गर्ने एवं प्रवद्र्धन गर्न पहल गर्नु पर्छ भन्ने उद्धेश्यसहित पनि उहाँहरुलाई निम्तो गरिएको मेयर राईले बताउनुभयो ।
संघीयता पश्चात हलेसी तुवाचुङ नगरपालिकामा पहिलो निर्वाचित महिला जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिने भएको छ । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित कतीपय महिला जनप्रतिनिधि पछिल्लो समय हराइरहेकाले हौसला स्वरुप सम्मान गर्न लागिएको मेयर राईले बताउनुभयो ।
यसैबिच, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान मन्दिर प्रांगणमा झाँकी, तामाङ सेलो, साकेला नाँच, बालन, कर्मचारीहरुको स्वागत नृत्य, करातेको डेमो लगायतका प्रदर्शन पनि कार्यक्रममा हुने नगरपालिकाले जनाएको छ ।
