Thursday, April 16News That Matters

खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

प्रतियोगिता उद्घाटन गर्नुहुँदै मेयर भट्टराई, उपमेयर राई लगायत

खोटाङ, फागुन २३ । खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय एकल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पोखरीस्थित सरस्वती आधारभूत विद्यालयको आयोजनामा मंगलबारबाट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विसन राईलेले उद्घाटन गर्नुभएको हो । प्रमुख भट्टराई र उपप्रमुख राई बीच उद्घाटन खेलसँगै नगरपालिका र उद्योग बाणिज्य संघ खोटाङ बीच मैत्रिपुर्ण खेल भएको थियो । जसमा उद्योग बाणिज्य संघले नगरपालिकाको टिमलाई पराजित गरेको छ । विद्यालयको प्रांगणमा उद्घाटन खेल पश्चात अन्य खेल माटिकोरेस्थित कबर्डहलमा सञ्चालन भइरहेको आयोजक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ शिक्षकले सहभागि जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ११ हजार १११, दोश्रोले ७ हजार ७७७ र तेश्रो हुनेले ४ हजार ४४४ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

१० पुषमा अजय बस्नेतको अध्यक्षतामा बनेको नयाँ विद्यालय व्यवस्थापन समितिले शिक्षकको शाररिक तन्दुरुस्ती र विद्यालयमा सञ्चालनार्थ दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिन ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

पछिल्लो समय देशका सामुदायिक विद्यालयमा अभिभाबकको वितृष्णा बढीरहेकाले शैक्षिक सुधारका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष बस्नेतको भनाइ छ । ‘विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा र स्वस्थ बनाउनको निमिक्त शिक्षक स्वयम् आफैं स्वस्थ रहन आवश्यक छ । एउटा असल, शाररिक, मानसिक, सामाजिक र संवेगात्मकयुक्त शिक्षकबाट मात्रै एउटा असल विद्यार्थी उत्पादन गर्न सफल भइन्छ । तसर्थ, हाम्रो पहिलो प्रयास नै स्वस्थ शिक्षक पहिलो आवश्यकता हो ।’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

यसैबिच, नेपाल सरकारले विद्यार्थीलाई दैनिक १५ रुपैयाँका दरले दिवा खाजाको रकम दिदै आएकोमा विद्यालयले थपेर ४० रुपैयाँ दिने गरेको बताइएको छ । आम्दानीको श्रोत नभएको विद्यालयमा विधार्थीलाई २५ रुपैयाँ थप गरेर खाजा खर्च दिंदै जाँदा आर्थिक बोझ बढ्दै गएकाले दिवाखाजा कार्यक्रमलाई प्रभावकारी र निरन्तरता दिन पनि ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको विव्यास अध्यक्ष बस्नेतले बताउनुभयो ।