
खोटाङ, फागुन २० । खोटाङको रावा बेसी गाउँपालिका क्षेत्रमा तोरीका बोट लहलह देखिएका छन् । ६ वटा वडा रहेको पालिकाको बेँसी क्षेत्रका खेतहरुमा प्राय तोरी लहलह भएको देख्न सकिन्छ ।
वडा नम्बर १ कुभिण्डेको खैरेनि, चालिसे, कुखुरे र वेल्टार, वडा नम्बर २ खार्पाको दसमुरे र जलजले, वडा नम्बर ३ लामिडाँडाको तिर्पा बेँसी, वडा नम्बर ४ डुम्रे धारापानीको कटहरे बेँसी र खार्पाटार, वडा नम्बर ५ दुवेकोलको राउटार र वडा नम्बर ६ हौँचुरको हौँचुर बेँसी, गिद्दे बेँसी र टार बेँसीमा यतिबेला मनै लोभ्याउने गरी तोरी फुलेका÷फलेका छन् । बेँसीसँगै गाउँका खेतबारीमा पनि कतीपय कृषकले तोरी लगाएका हुन् ।
अघिल्ला वर्षहरुमा पनि कृषकले थोरै मात्रमा तोरी खेती गर्दै आएका थिए । तर यो वर्ष गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेर उन्नत जातको बिउ वितरण गरेपछि अहिले प्राय कृषकको खेतबारीमा तोरी लहलह भएको छ । चितवन लोकल र मोरङ जातको १ हजार २ सय ६० केजी तोरीको बिउ गाउँपालिकाले खरिद गरेर कृषकलाई वितरण गरेको थियो । उक्त बिउ गाउँपालिका भरीका करीब ६ सय कृषकले लगेर खेतबारीमा लगाएका कृषि शाखा प्रमुख मुगाधन राईले बताउनुभयो ।
पालिकाले वितरण गरेरको बिउ कृषकले दुई चरणमा लगाएका छन् । पहिलो चरणमा लगाएको तोरी यतिबेला पाक्न थालेको छ भने दोस्रो चरणमा लगाएको तोरी फूल खेलिरहेको राईको भनाइ छ । यो वर्ष बाहिरबाट बिउ खरिद नगरी कृषकहरुले लगाएको तोरीलाई नै बिउकोरुपमा प्रयोग गरिने पालिकाको योजना रहेको उहाँले सुनाउनुभयो । यस्तै कृषकले लगाएको तोरी पेलेर तेल निकाल्न गाउँपालिकाले मिल खरिद गर्ने भएको छ ।
मिल खरिद गर्नका लागि गाउँपालिकाको फागुन १५ गते सम्पन्न हिउँदे सभाले पारितसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले बताउनुभयो । तोरी खेतीलाई आगामि वर्ष अझै बृहत बनाएर गाउँपालिकालाई तोरीको तेलमा आत्मनिर्भर बनाउने गाउँपालिकाले नीति नै लिएको छ । जसको लागी तोरीसँगै सुर्यमुखी खेतीलाईसमेत परिक्षणका लागि यो वर्ष केही ठाउँमा लगाइने भएको छ । सबै वडालाई समेटेर सुर्यमुखी खेतीको परिक्षणका लागि बिउ खरिद गर्ने प्रक्रियामा गाउँपालिका रहेको बताइएको छ ।
यस्तै, तोरी खेतीबाट गुन्द्रुक र मौरी पालनलाई पनि प्रवद्र्धन गर्दै लगिने गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । जसका लागि मौरी पालनको तालिमसमेत गाउँपालिकाले प्रदान गरेको छ । केही कृषकहरुले मौरी पालन गरिरहेको भएपनि त्यसलाई अझै बृहत बनाएर लैजाने उहाँको भनाइ छ । तोरीको फूलबाट मौरीलाई रस र तेलसँगै पातबाट गुन्द्रुक बनाएर बिक्री गर्ने पालिकाको योजना छ । प्याकेट सिस्टमले गुन्द्रुक बिक्री गरेर कृषकहरुलाई आत्मनिर्भर बनाउदै पालिकाको आम्दानीको स्रोत बढाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
