Friday, April 17News That Matters

बाक्सीलामा निर्माणधिन ११ करोडको सव–स्टेशन अलपत्र

अलपत्र सव–स्टेशन, तस्विर : राजकुमार भट्टराई (सरगम)

राजकुमार भट्टराई (सरगम)
खोटाङ, फागुन १९ । खोटाङमा निर्माणधिन रहेको ११ करोड लागतको सव–स्टेशन अलपत्र परेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला सिमपानीस्थित विद्युत प्राधिकरणको सव–स्टेशन लामो समयदेखि अलपत्र छाडिएको हो ।

निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् । कतिपय उपकरण पानीले भिज्दा बिग्रीने भएपनि खुला आकाशमा राखिएको छ । खुला चौंर भरी थुपारिएका महंगा उपहकरणहरु काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको छ भने क्वाटर र कन्ट्रोल बिल्डिङको निर्माणको काम पनि पुरा भएको छैन् । खुला चौरमा छोडिएको सामान हेर्दा राज्यमा नियमन गर्ने कुनै निकाय नै छैन जस्तो देखिने स्थानीय नागरिक बताउछन् । बिराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा नलगिएको बताइएको छ ।

भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रशारण लाईन, ट्रान्सफर्मर जडान गर्ने र सव–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ साल भदौमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले बुईपा–बाक्सिला ३३ केभि र ११ केभि प्रशारण लाईनको काम पुरा गरेपनि ट्रान्सफर्मर थप गर्ने र सव–स्टेशन निर्माणको काम अलपत्र पारेको छ ।

अलपत्र सव–स्टेशन,

अलपत्र परेको सव–स्टेशन निर्माण पुरा भएर सञ्चालनमा आए जिल्लामा देखिइरहेको विद्युत सम्बन्धि केही समस्याहरु अन्त्य हुने प्राधिकरण खोटाङ शाखाका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । ‘अहिले बाक्सीला क्षेत्रमा विद्युतमा समस्या आएमा हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, रावा बेसी गाउँपालिका क्षेत्र लगायत जिल्लाका अन्य ठाउँमा पनि विद्युत जाने समस्या छ । एक ठाउँमा विद्युत बिग्रीदा जिल्लाका धेरै ठाउँमा विद्युत काट्नु पर्ने अवस्था छ । त्यसैले बाक्सीलामा सव–स्टेशन सञ्चालनमा आए यस्ता समस्याको समाधान हुने थियो ।’ प्रमुख रेग्मीले भन्नुभयो ।

सव–स्टेशनको बाँकी काम पुरा गर्नका लागि स्थानीय सरकार पटक–पटक विद्यूत प्राधिकरण पुगेको छ । तर काम सुरु गर्ने प्रतिबद्धता पाएपनि ब्यबहारमा लागू नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । ‘म सम्बन्धित निकायमा गएर ठेक्का तोडेर अरु प्रक्रिया सुरु गरौँ भनेर अनुरोधसमेत गरेँ । तर प्रक्रिया लम्बीने भएकाले सोही ठेकेदारलाई चाडै काम सुरु गराउने भनियो । केही ब्यक्तिहरु फिल्डमा आएर पनि हेर्नु भयो, तर काम भने अहिलेसम्म सुरु भएको छैन् ।’ अध्यक्ष राईले भन्नुभयो ।

जिल्लाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै बाक्सिलामा सव–स्टेशन निर्माण सुरु गरिए पनि सम्झौता अनुसार म्याद सकिएको ४ वर्ष हुन लाग्दासम्म काम सम्पन्न भएको छैन् । हालसम्म ७० प्रतिशत काम भएको छ भने बाँकी काम सम्पन्न हुँदासम्ममा आयोजनाको कुल खर्च करिब ११ करोड पुग्ने प्राधिकरणले जनाएको छ । पटक–पटक पेटी ठेकेदार परिवर्तन हुँदा सव–स्टेशन र ट्रान्सफर्मर जडानको कामले गति लिन नसकेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो । गोरखापत्र