
खोटाङ, फागुन २६ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल खोटाङमा विवाद देखिएको छ । हलेसीमा भएको छैटौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनको विषयमा विवाद देखिएको हो ।
संघका केन्द्रीय महासचिव क्षितिज थेवेको प्रमुख आतिथ्यमा बिहिवार अधिवेशनको उद्घाटन भएको थियो । नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डल पनि गठन गरिएको थियो । अध्यक्षमा ६ जना आकांक्षी देखिएका थिए ।
बिहिबार अधिवेशन हलेसीमा उद्घाटन भए पनि शुक्रबार दिक्तेलस्थित एमालेको पार्टी कार्यालयमा आएर रोसन चाम्लिङ राईको नेतृत्वमा ५९ सदस्यीय कमिटी घोषणा गरिएको छ । जसमा उपाध्यक्षमा रामकृष्ण राई ,सचिवमा सविन राई ,उप– सचिवमा सुरेस राई र लक्ष्मी गुरुङ, कोषाध्यक्षमा भैरव बस्नेत चयन गरिएको छ ।
तर युवा संघमा आबद्ध युवाहरुको भावना र विधान विपरित पार्टीका नेतृत्वले बन्द कोठाबाट नेतृत्व घोषणा गरेकाले गम्भिर आपत्ति भएको भन्दै युवा संघको एक समुहले विज्ञप्ति निकालेको छ । बहुसंख्याक प्रतिनिधिको भावनालाई प्रतिनिधित्व गर्दै सहमती या लोकतान्त्रिक पद्धतीमा जानका लागि उक्त समुहले कमिटीसमेत घोषणा गरेको छ । जसमा अध्यक्षमा रसकुमार राई, उपाध्यक्षमा पुस्कल राई, सचिवमा विरेन्द्र मगर, सहसचिवमा जगत किराती, मनोज राई र समी थुलुङ, कोषाध्यक्षमा रमेश परियारको नाम उल्लेख गरिएको छ ।
हाल बन्द कोठाबाट घोषणा गरिएको कमिटीका पदाधिकारीहरु विधान विपरित रहेको निवर्तमान सचिव विरेन्द्र मगरको भनाइ छ । विधान अनुसार उनिहरु अहिले पदाधिकारीमा बस्न योग्य नै नरहेको उहाँको दावी छ ।
