Thursday, April 16News That Matters

ग्याँस सिलिण्डरबाट सुरु भएको आगो निभाउन दिक्तेल बजारमा अभ्यास प्रदर्शन


खोटाङ, चैत ३ । खोटाङको दिक्तेलबजारमा ग्याँस सिलिण्डरबाट सुरु भएको आगो तथा शरीरमा लागेको आगो निभाउन अभ्यास प्रदर्शन गरिएको छ । घरमा प्रयोग भइरहेको ग्याँस लिक भएमा र कुनै ब्यक्तिको शरीरमा आगो लागेमा कसरी निभाउन सकिन्छ भनेर शसस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गुल्म हलेसी, खोटाङले दिक्तेल बजारमा उपाय प्रदर्शन गरेको हो ।

घर–घरमा प्रयोग भइरहेको ग्याँस लिक भएर आगलागीका घट्ना बढिरहेको सन्दर्भमा शसस्त्र प्रहरी दिक्तेलको पुरानो बेस क्याम्पमा आगलागी नियन्त्रण प्रयास सम्वन्धी जनचेतनामुलक अभ्यास प्रदर्शन गरेको जनाएको छ ।

शसस्त्र प्रहरीले ग्याँस सिलिण्डरबाट बलेको आगोलाई भिजाएको कम्बलले बेरेर निभाउने तरिका प्रदर्शन गरेर देखाएका थिए । दर्शकका रुपमा उपस्थित स्थानीयलाई पनि सिलिण्डरबाट ग्याँस लिक भएर बलिरहेको आगो निभाउने अभ्यास गराइएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म, हलेसी, खोटाङले दिक्तेलका डिएसपी श्याम रावतले बताउनुभयो ।

यस्तै, शसस्त्र प्रहरीले आत्मदहको प्रयास गरेका वा अन्य कारणले शरीरमा आगो लागिरहेका अवस्थाका व्यक्तिलाई जोगाउने अभ्यास प्रर्शन गरेर देखाएको छ । जलिरहेको व्यक्तिलाई भिजेको कम्बलले बेरेर भुईमा सुरक्षित रुपमा सुताएर आगो निभाउनेदेखि प्राथमिक उपचार गरेर स्वास्थ्य संस्था लैजाने विधि बारे प्रदर्शन गरिएको छ । आगो निभाउने विधि सम्वन्धी प्रदर्शनलाई स्थानीय एबं विद्यार्थीले अवलोकन गरेका थिए । ग्याँस सिलिण्डर लिक हुँदा लाग्ने आगो तथा शरीरमा लागेको आगो निभाउने अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिइने शसस्त्र प्रहरी बलका डिएसपी रावतको भनाइ छ ।