
खोटाङ, फागुन २९ । खोटाङका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालयको कार्यतालिकाले नेटो काटिसक्दा खोटाङका क्याम्पसहरुमा निर्वाचन हुने कुनै छाँटकाँट छैन् ।
चैत ५ गते (स्ववियु) निर्वाचन हुने भनिए पनि जिल्लाका ७ वटै क्याम्पसमा तोकिएको समयमा चुनाव नहुने निश्चितप्राय छ । ५ वटा क्याम्पसले निर्वाचनको कुनै प्रत्रिया नै अघि नबढाएको बुझिएको छ । रावा बेसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पसले प्रक्रिया अघि बढाए पनि विवादका कारण निर्वाचन नहुने पक्कापक्की नै भइसकेको बुझिएको छ ।
सदरमुकाममा रहेको दिक्तेल बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको संगठन दर्तासम्म पुगेर विवादले उत्कर्ष पुगे पछि अन्योलता छाएको हो । त्रि.विको कार्यतालिकालाई केही परिमार्जन गरेर चुनावी प्रक्रियामा गएको क्याम्पस अन्ततः विवाद मिलाउन नसक्ने अवस्थामा पुगेको छ । फागुन १९ गते संगठन दर्ता गर्ने त्रि.विको कार्यतालिका भए पनि क्याम्पसले २२ गते मात्र निर्वाचन समिति गठन गर्यो । क्याम्पसका विभिन्न कारण देखाउँदै केही दिन पछि निर्वाचनको प्रक्रियामा गएको क्याम्पसले संगठन दर्ताका लागि २५ गते मिति तोकेपछि विवाद सुरु भएको स्रोतले बताउँछ ।
स्वातन्त्रले समुह दर्ता गराएपछि राजनीतिक दलका संगठनहरुको विरोध
क्याम्पसले तोकेको मितिमा ५ राजनीतिक दलका संगठनसँगै अन्य दुई समुह दर्ता भए । कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल (क्रान्तीकारी), एकीकृत समाजवादी निकट अनेरास्ववीयु, र जसपा निकट समाजवादी विद्यार्थी युनियनले आफ्नो संगठन दर्ता गराएको क्याम्पसका स्ववियु निर्वाचन समितिका प्रमुख एलपी घिमिरेले जानकारी दिनुभयो । यस्तै दुई स्वातन्त्र समुह प्रतिभाशाली स्वातन्त्र विद्यार्थी समुह र स्वातन्त्र विद्यार्थी नविन पाइला समुहले पनि चुनावमा भाग लिन समुह दर्ता गराएको उहाँको भनाइ छ ।
दुई फरक समुहले समुह दर्ता गराए पछि उनिहरुलाई राजनीतिक दलका विद्यार्थी संगठन जतिकै मान्यता अर्थात हैसियत दिन नमिल्ने भन्दै संगठनहरुले विरोध जनाएको प्रमख घिमिरेले बताउनुभयो । त्रि.विको स्ववियु निर्वाचन सम्बन्धि निर्देशिका २०७९ अनुसार ११ जना भन्दा बढीको समुह बनाएर कुनै पनि विद्यार्थी समुहले निर्वाचनका लागि भाग लिन पाउने छन् । सोही अनुसार दुई समुहलाई दर्ता गरिएको र उनिहरुले समानुपातिकसम्मकै चुनावमा भाग लिन पाउने प्रमुख घिमिरेको भनाइ छ । स्वातन्त्रले समुह दर्ता गराएपछि चुनाव हार्ने डरका कारण राजनैनिक दलका विद्यार्थी संगठनहरुले अस्विरकार गर्दै आएको आएको आरोप छ ।
विवाद मिलाउन राजनीतिक दल गुहार्दै क्याम्पस
उत्पन्न विवादलाई निर्वाचन समिति र क्याम्पसले मिलाउन नसकेपछि मंगलबार राजनीतिक दलसँग छलफल हुने भएको छ । यस विषयमा पटक पटक छलफल गर्दा पनि अन्य संगठन लचिलो हुँदै आएको तर अनेरास्ववियुले नमान्दा विवाद कायमै रहेको निर्वाचन समितिको ठहर छ । विवादको विषयमा सोमबार क्याम्पसको सञ्चालक समितिको बैठक बसेर राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको बताइएको छ । तर क्याम्पसले चुनावलाई खासै महत्व नदिएको, प्रक्रिया अघि बढाउन ढिलाइ गरेको कारण समस्या देखिएको अनेरास्ववियुको भनाइ छ । यता अन्य चार संगठनले पनि क्याम्पसले चाडै प्रक्रिया अघि बढाएर समयमै चुनाव गराउन माग गरेको छ ।
कसिलो कार्यतालिकाको विरोध
त्रि.विले १९ गते संगठन दर्ता गर्ने, २१ गते मतदाता सूचि प्रकाशित गर्ने र सूचि उपर दावी विरोध गर्न २५ गते विहान १० बजेसम्मको समय दिएको छ । तर क्याम्पसले ढिला गरी प्रक्रिया सुरु गर्दा दावी विरोधको समय अत्यन्तै छोटो छ । २५ गते अपरान्ह ४ बजेदेखि २६ गते बिहान १० बजेसम्म दावी विरोधको समय दिएको थियो । यो समय अपुग भएको भन्दै संगठनहरुले विरोध जनाएका छन् । क्याम्पसको मतदाता सूचि अनुसार ६ सय ६६ जना रहेका छन् । जसको दावी विरोधमा त्रि.विले ४ दिनको समय दिए पनि यहाँ १ दिनको समय पनि दिएको देखिदैन् । कसिलो कार्यतालिका निकालेर चुनावी प्रक्रियामा क्याम्पस गए पनि अन्ततः २७ गते हुनु पर्ने मनोनय दर्ता २९ गते बितिसक्दासम्म भएको छैन् ।
भर्ना छुटाइएको भन्दै विद्यार्थीको विरोध
क्याम्पसको लापारबाहिको कारण भर्ना छुटेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । २३ गते विद्यार्थी संगठनहरुसमेतको बैठक बसेर सोही दिनबाटै भर्ना बन्द गर्ने निर्णय गरिएको बताइएको छ । कमसेकम केही दिन भर्नाका लागि समय दिएर क्याम्पसले सूचना निकाल्नु पर्ने थियो । तर जानकारी नै नगराइ भर्ना बन्द गरिएकाले आफुहरु मत हाल्न बञ्चित भएको भन्दै उनिहरुले विरोध जनाएका हुन् । पहिलो वर्षएको परिक्षा दिएर दोस्रो वर्षको लागि भर्ना हुन बाकी रहेका तथा दोस्रो वर्षको परिक्षा दिएर तेस्रो वर्षको लागि भर्ना हुन बाकी रहेका करीब ८० जना विद्यार्थीको भर्ना छुटेको बताइएको छ ।
